काठमाडाैं- अफगानिस्तानस्थित काबुलको उत्तरी क्षेत्रमा रहेको महत्वपूर्ण बेस क्याम्पबाट अमेरिकी तथा नेटो सैनिकको अन्तिम टोली फिर्ता भएका छन्।
तालिबान बिद्रोहीले अफगानिस्तानका विभिन्न क्षेत्रमा आफ्ना गतिविधि सक्रिय पार्दै लगेका बेला उनीहरु फिर्ता भएका हुन्। २० वर्षसम्म विद्रोहीविरुद्धको युद्धको महत्वपूर्ण केन्द्रका रुपमा रहँदै आएको बाग्राम हवाई अड्डाबाट सैनिकको टोली फिर्ता भएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका हुन्।
यद्यपि, युद्धको जोखिम बढेको भन्दै संयुक्त राष्ट्रसंघसहितले चिन्ता व्यक्त गर्दै आएका छन्। सन् २००१ को सेप्टेम्बर ११ मा झण्डै तीन हजार मानिसको ज्यान जाने गरि अमेरिकामा भएको आतंकवादी आक्रमणको वर्षगाँठ पारेर सैनिक फिर्ता हुन लागेका हुन्।
अल कायदाले गरेको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा युद्ध थालेको थियो। अमेरिकाले आफ्नो इतिहासकै लामो युद्ध अन्त्यको घोषणा गरेको छ। मानवीय तथा ठूलो आर्थिक क्षति अमेरिकाले अफगान युद्धमा बेहोरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सैनिकहरु आउँदो सेप्टेम्बर ११ सम्ममा फिर्ता भइसक्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।