काठमाडौं– नेकपा एमालेका ओली–नेपाल पक्षका दोस्रो तहका नेताहरुको अनौपचारिक संवाद सकिएको छ। ललितपुरको कुपण्डोलस्थित समिट होटेलमा चलेको संवादमा एकता प्रक्रियाका लागि निरन्तर छलफलमा रहने सहमतिसहित नेताहरु छुट्टिएका छन्।
वार्तामा सहभागी एक नेताका अनुसार आफूहरुबीच छलफललाई जारी राखेर शीर्ष नेताहरुलाई संवादका लागि प्रयत्न गर्ने सहमति पनि भएको छ। सोही प्रयत्नअन्तर्गत अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार टेलिफोन संवाद गराइएको हो।
वार्तामा सहभागी एमाले नेता घनश्याम भूसालले वरिष्ठ नेता नेपालनिवास कोटेश्वर पुगेर दुई नेताहरुबीच संवाद गराएको वार्तामा सहभागी एक नेताले जानकारी दिए। दुई नेताबीचको संवादपछि नेता भूसाल फेरि वार्तास्थल फर्किएका थिए।
दिउँसो १ बजेदेखि करिब तीन घन्टा चलेको छलफलमा ओलीका पक्षबाट एमाले स्थायी कमिटी सदस्य विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ सहभागी थिए भने वरिष्ठ नेता नेपालपक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य र घनश्याम भुसाल सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।