सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रदेश सभा बैठकमा आज पनि छलफल हुन सकेन। प्रदेश सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै स्थगित हुँदै आएको छ। यसअघि तीन पटक स्थगित भएको प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आजको चौँथो बैठक पनि कार्यसूचीमा प्रवेश नहुँदै स्थगित भएको छ।
सभामुख राजबहादुर शाहीले बैठकको कारबाही अगाडि बढाउन खोज्दा नेकपा एमाले कर्णाली प्रदेश सभा सदस्य देवी ओलीले सर्वोच्च अदालतले पुनर्बहाली गरेका एमालेका चार सदस्यको निर्णय कार्यान्वयन नभएको टिप्पणी गरिन्।
'गत जेठ ३१ गते सभामुख शाहीले वाचन गरेर अनुसार निर्णय कार्यान्वयन भएको छैन,' उनले भनिन्, 'एमाले प्रदेश सभा दलले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेल सभाको कारबाही प्रक्रिया अगाडि बढ्न दिँदैनौं।'
संवैधानिक र कानूनी व्यवस्था एकातिर तर व्यवहारिक अभ्यास अर्कोतिर गरिएको टिप्पणी गर्दै उनले बजेट तथा सभाको बैठक सञ्चालन गर्न सबै दलको जिम्मेवारी उत्तिकै रहेको औंल्याइन्।
बैठकमा एमालेका प्रदेश सभा सदस्य दानसिंह परियारले संसदीय व्यवस्था अनुसार काम नहुँदा बैठक अवरोध गर्नु परेको बताए। 'सर्वोच्चले पुनर्बहाली गरेपछि सभामुख शाहीले जेठ ३१ गते सभामा नेकपा एमालेका चार जना भनेर पत्र वाचन गरेपछि अब कर्णालीमा एमालेको अवस्था नयाँ समीकरणसहित अघि बढ्यो भन्ने हामीले सोच्यौं,' उनले भने, 'तर आज उनै व्यक्ति सत्तामा र एमालेको विरुद्धमा सरकारको नेतृत्व गरिरहेका छन्। हामी हेरिबसेका छौँ। हामीलाई लज्जाबोध भइरहेको छ।'
सर्वोच्चले एमाले बनाइदिँदा पनि एमालेको पक्षमा नभएका बहालवाला तीन मन्त्रीहरु दलीय व्यवस्था विपरीत सरकार सञ्चालनमा सहभागी भएका कारण एमालेले बैठक अवरुद्ध गर्नुपरेको उनले बताए।
त्यसैबीचमा सभामुख शाहीले पटकपटक बैठक सञ्चालनमा सहयोग गर्न प्रदेश सभा सदस्यलाई गर्न आग्रह गरे। अवरोध नहटेपछि सभामुख शाहीले यही असार २४ गते बिहीबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।