काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले सरकारले आफूहरुसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनमा इमान्दारिता नदेखाएको आरोप लगाएका छन्।
सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति आफूहरुले पालना गरेपनि सरकारले अर्घेल्याइँ गरेको उनको आरोप छ। सरकारले बन्दी रिहा र मुद्दा फिर्ता गर्न किन ढिलाइ गरिरहेको छ भनेर बुझ्न नसकिएको बास्तोलाले बताए।
‘सरकार र हाम्रोपक्षबीच तीन बुँदे सहमति भयो। सार्वजनिक रुपमा गरेको सहमतिमा सरकारले इमान्दारिता देखाएको छैन। सहमति हुँदा मन्त्री, नागरिक समाज पत्रकार बुद्धिजीवीहरु, जनतालाई राखेर सहमति गरियो’ नेपाल लाइभसँग बास्तोलाले भने, ‘हामीले आफ्ना तर्फबाट सहमति पालना गर्यौं। सरकारले त्यो सहमति पालना गरेको देखिएन। सरकारले जानिबुझी पालना नगरेको देखियो।’ सरकारले बन्दी रिहा र मुद्दा फिर्ता हुने प्रक्रियामा छ भन्दै आफूहरुलाई अलमल्याइरहेको विप्लव पक्षको आशंका छ।
सरकार र विप्लव नेकपाबीच गत फागुन २१ गत तीन बुँदे सहमति भएपछि विप्लवपक्ष शान्तिपूर्ण मूलधारको राजनीतिमा आएको छ। सहमति भएको चार महिना वितिसक्दासमेत बन्दी रिहा, मुद्दा फिर्ता हुन नसकेकोमा विप्लव नेतृत्वका नेताहरु सरकासँग आक्रोशित भएका छन्। अझै देशैभरबाट एक सय ३५ जना भन्दा धेरै नेता कार्यकर्ता रिहा हुनेपर्ने र उत्तिकै संख्यामा मुद्दा फिर्ता लिनुपर्ने अवस्था रहेको बास्तोलाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।