काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न गरेको आग्रह वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका छन्।
गएराति ओलीले नेपाललाई फोन गरेर आज भेट्न आग्रह गरेको तर नेपालले अस्वीर गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए। शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकका निर्णयबारे सञ्चारकर्मीहरूलाई जानकारी दिने क्रममा उनले नेता नेपालले नमानेकै कारण दुई नेताबीच भेट हुन नसकेको बताए।
'अध्यक्ष कमरेड ओलीले हिजो राति नौ बजे फोन गरेर आज भेट्न आग्रह गर्नु भएको थियो। तर, उहाँले (नेपालले) भेट्दिनँ भन्नु भयो', ज्ञवालीले भने।
नेपालसँग भएको फोनवार्ताका विषयमा अध्यक्ष ओलीले बैठकमा समेत जानकारी गराएका थिए।
फोनवार्तामा नेपालले आफूलाई ओलीको फोन उठाउनै मन नलाग्ने बताएका शुक्रबारको बैठकमा ओलीले बताएका थिए।
'मैले भेटौं भनेर हिजो बेलुकी माधवलाई फोन गरें। २०-२५ मिनेट कुरा गरें। भेटौं भन्दा उहाँले मान्नुभएन। मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भन्नुभयो', ओलीले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।