काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दुई पक्षीय अनौपचारिक वार्तामा सक्रिय एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जना नेताहरुबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल पक्षीय नेताहरु गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य सहभागी थिए।।
नेपाल पक्षीय नेताहरुले प्रधानमन्त्री ओलीलाई एकता कार्यदल औपचारिक रुपमा ब्युँताएर एकताको वातावरण बनाउन प्रस्ताव गरेका छन्। उक्त कार्यदलसँग अध्यक्ष ओली र प्रधानमन्त्री नेपाल पनि बसेर वार्ता गर्न उनीहरुले आग्रह गरेका छन्।
एकताका लागि अनुकुल वातावरण बनिरहेको बताउँदै त्यसलाई सार्थक बनाउन कार्यदल ब्युँताउनुपर्ने उनीहरुको भनाइ थियो।
अध्यक्ष ओलीसँगको भेटमा सहभागी नेतामध्य एकले नेपाल लाइभसँग भने, ‘हामीले एकतालाई जोड दिनेगरी निर्णय गरेका छौं। एकताको माहोल बनेको छ। कार्यदललाई औपचारिक रुपमा ब्युँताएर कार्यदलसहित शीर्ष नेताहरु बसेर एकदुई दिनभित्रै एकता प्रक्रियासम्म पुगौं भनेका छौं।’
उनीहरुले शुक्रबारको बैठक पनि स्थगित गर्न आग्रह गरेका थिए। एकपक्षीय बैठकको अर्थ नभएकाले स्थगित गरेर वार्ताको वातावरण बनाउन उनीहरुले प्रस्ताव गरेका हुन्।
जवाफमा प्रधानमन्त्री ओलीले आफूले निकटस्थसँग छलफल गर्ने बताएका छन्। अध्यक्ष ओलीको भनाइ उदृत गर्दै ती नेताले भने, ‘हाम्रो कुरा सुनिसकेपछि उहाँले साथीहरुसँग छलफल गर्छु भन्नुभएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।