काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधि सभा पुन:स्थापना भएपनि सरकार बन्न सक्ने अवस्था नरहेको बताएका छन्।
प्रतिनिधि सभा विघटनको मुद्दामा शुक्रबार बहस गर्दै वरिष्ठ अधिवक्ता गुरागाईंले सरकार बनेपनि विश्वासको मत पाउने अवस्था नदेखिएको जिकिर गरे। 'सरकार बन्न सक्ने अवस्था छैन। बने पनि विश्वासको मत पाउने अवस्था देखिँदैन। दलभित्र द्वन्द्व छ। सभामुख र दलहरु फरक-फरक अवस्थामा छन्' इजलाससमक्ष गुरागाईंले भने।
संसद पुन: स्थापना भए राजनीति अस्थिर बन्ने उनको भनाइ थियो। उनले चुनावबाट नयाँ जनप्रतिनिधि छानिने र देश अग्रगामी कोर्समा जाने बताए। 'देशले अग्रगामी कोर्स समाउँछ। जनताबाट नयाँ प्रतिनिधि छान्न पाउँछन्। संसद् पुन: स्थापना नभए चुनाव हुन्छ, चुनाव भयो भने जनताले मतदान गर्न पाउने अवस्था हुन्छ। एक वर्षपछि फेरि निर्वाचनमा जानै पर्छ त्यसैले यो अवधिलाई मात्र सदर गर्न जरुरी छ।'
उनले संसद विघटन सरद हुनुपर्ने जिकिर गरे। सविधानको धारा ७६ को ५ अनुसारको प्रक्रियामा विवाद देखिएको र रिटमा राष्ट्रपतिलाई विपक्षी नबनाएको भन्दै उनले विपक्षी नबनाएको निकायका नाममा आदेश जारी हुन नसक्ने जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।