काठमाडौं– नेकपा एमालेका नेता युवराज ज्ञवालीले पार्टी विधान विपरित मनलाग्दी केन्द्रीय सदस्य थप्दै जाने बैठकमा आफूहरु उपस्थित नहुने बताएका छन्।
एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले आज बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएको छ। उक्त बैठकमा सहभागी नहुने माधव नेपाल पक्षले बिहीबार निर्णय गरेको थियो। नेपाल पक्षले बैठकमा सहभागी नहुने निर्णय गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपालसँग शुक्रबार विहान टेलिफोन संवाद गरेका थिए।
बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न ओलीले नेता नेपालाई आग्रह गरेपनि बैठकमा सहभागी नहुने नेपाल पक्षका नेता ज्ञवालीले नेपाल लाइभलाई जानकारी दिए।
‘अहिले जाने स्थिति छैन। सहमति गरेर अर्को बैठकमा जान सकिन्छ’ उपाध्यक्ष ज्ञवालीले भने, ‘जेठ २ गतेको कमिटीको बैठक बस्नु पर्यो, आयोजक कमिटीको बैठकलाई नै उहाँहरुले रुपान्तरित गर्नु भएको छ।’
उनले ९ औं महाधिवेशनबाट निर्वाचित कमिटीको औपचारिक बैठक बसेर विधान अनुसार सदस्य थप गर्न सकिने बताए। ‘९ औं महाधिवेशनबाट निर्वाचत कमिटीको बैठक औपचारिक रुपमा बसेर थप्ने कुरा एउटा हुनसक्छ’ ज्ञवालीले भने, ‘त्यसका लागि वैधानिक प्रकृया हुन्छ, लोकतान्त्रिक पार्टीमा मन लागे थप्ने, नलागे हटाउने काम उहाँहरु गर्नु भएको छ, त्यो ठिक भएन।’
एमालेको कमिटी भनेको जेठ २ अघिको कमिटी भएको र त्यसपछिको कमिटी भनेको तत्कालीन नेकपाको कमिटी भएको उनले बताए।
नेकपा एमालेको विधानले मन लाग्दा थप गर्ने र हटाउने व्यवस्था नगरेको भन्दै उनले भने, ‘पार्टीको अध्यक्षले मन लाग्दा थप्ने मन लाग्दा हटाउने हुन्छ? हाम्रो विधानले अध्यक्षलाई एक जना पनि थप्ने अधिकार दिएको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।