काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद भएको छ।
दुई नेताबीच शुक्रबार बिहान फोन संवाद भएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। नेताहरुबीच आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक अघि भेटवार्ताको तयारी गरिएको छ।
फोन संवादमा अध्यक्ष ओलीले बैठकमा आउन नेता नेपाललाई आग्रह गरेका थिए। उनले आफूलाई चित्त नबुझेको कुरा बैठकमै आएर राख्न नेता नेपाललाई आग्रह गरे।
‘अध्यक्षज्यूले एकताका लागि हदैसम्मको लचकता अपनाउने क्रममा फोन गरेर बोलाउनुभयो। उहाँहरूबीच भेटवार्ता हुने सम्भावना छ’ तामाङले भने।
एमालेको केन्द्रीय कमिटी बैठक आज बालुवाटारमा ११ बजेका लागि बोलाइएको छ। तर नेता नेपाल पक्षले भने बैठकमा सहभागी नहुने निर्णय गरेको छ।
कार्यालय सचिव तामाङले बैठक तोकिएकै समयमा सुरु हुने बताए।
एमाले अध्यक्ष ओलीपक्षको महाधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आयोजक कमिटी भंग गर्ने र साविकको केन्द्रीय कमिटी ब्युँताउँने निर्णय गरेको थियो। सो कमिटीको बैठक शुक्रबारका लागि बोलाइएको छ।
ओलीपक्षले यो केन्द्रीय कमिटी २०७५ जेठ २ को अवस्थाकै भएको दाबी गरेको छ। तर, त्यसमा माओवादीबाट आएका नेताहरुलाई समेत समावेश गरिएकाले नेपालपक्षले जेठ २ मा फर्केको भन्न नमिल्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।