काठमाडौं- नेकपा (एमाले)का राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले राजनीतिक विवादको समाधान अदालतबाट खोज्न नहुने बताएका छन्।
बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य प्याकुरेलले शक्ति पृथकीकरणको सिद्धान्तलाई नबुझेर राजनीतिक विवादलाई अदालतमा लगिएको भन्दै राजनीतिक विवादलाई राजनीतिक रुपमै समाधान गर्नुपर्ने बताए।
राजनीतिक समस्याको समाधानको थलो न्यायपालिका नहुने उनको भनाइ छ। ‘राजनीतिक विवादको अन्त्य राजनीतिक रुपमै गर्नु जरुरी छ। न्यायपालिकामा हानी गर्न लागेको त्यसप्रति सचेत हुन जरुरी छ। राजनीतिक विवादको अन्त्य राजनीतिक रुपमै गर्नु आवश्यक छ’, उनले भने, ‘प्रत्येक राजनीतिक समस्या समाधानको थलो न्यायपालिका हुन सक्दैन।’
उनले विपक्षी राजनीतिक दलहरुले संविधानको मर्म विपरीत निर्दलीयताको वकालत गरेको भन्दै दुःख व्यक्त गरे। प्याकुरेलले वाम र प्रजातान्त्रिक शक्तिहरुको सहकार्यले मात्रै आजसम्मको राजनीतिक परिवर्तन सम्भव भएको भन्दै सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए।
‘नेपालको निरंकुश राजतन्त्रको अन्त्यको लडाँइ होस् या कुनैपनि लोकतान्त्रिक आन्दोलन होस्, त्यसमा वाम र प्रजातान्त्रिक शक्तिहरुको सहकार्यले मात्रै सम्भव भएको इतिहासलाई एकचोटी सबैले स्मरण गर्नुपर्ने अनुरोध गर्न चाहान्छु’, प्याकुरेलले भने, ‘वाम प्रजातान्त्रिक शक्तिहरुको एकता र सहकार्यमा विभाजन आउनासाथ उपलब्धीहरु गुमेको हाम्रो इतिहास साक्षी छ। त्यसप्रति सबैलाई मनन् गर्न अनुरोध गर्न चाहान्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।