काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल पक्ष शुक्रबार बोलाइएको पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षको महाधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आयोजक कमिटी भंग गर्ने र साविकको केन्द्रीय कमिटी ब्युँताउँने निर्णय गरेको थियो। सो कमिटीको बैठक शुक्रबारका लागि बोलाइएको छ।
ओलीपक्षले यो केन्द्रीय कमिटी २०७५ जेठ २ को अवस्थाकै भएको दाबी गरेको छ। तर, त्यसमा माओवादीबाट आएका नेताहरुलाई समेत समावेश गरिएकाले नेपालपक्षले जेठ २ मा फर्केको भन्न नमिल्ने जनाएको छ।
बिहीबार बानेश्वरमा बसेको नेपालपक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले अहिलेकै अवस्थामा शुक्रबारको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेको नेपालपक्षका नेता योगेश भट्टराईले बताए।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेपाल पक्षका नेता भीम रावलले सहमति नहुँदासम्म कुनै पनि बैठकमा सहभागी नहुने बताए। नेता रावलले दशौं महाधिवेशन आयोजक कमिटीलाई भंग नगरी केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने भनिएकोमा पनि आपत्ति जनाए।
‘दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने भनिएको छ, पार्टीको विधान बमोजिम आयोजक कमिटी गठन गर्ने कुनै व्यवस्था छैन,’ नेता रावलले भने, ‘जसलाई अदालतको फैसला (आदेश)ले पनि त्यो व्यवस्था छैन भनेर आयोजक कमिटीलाई अवैध ठहर गरिसकेको छ।’
बिहीबारको बैठकले २ वटा विषयमा निर्णय गरेको नेता रावलले जानकारी दिए। दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसको निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्याउने भएकोले असार १८ गते (शुक्रबार) बोलाइएको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेको नेता रावलले बताए। बैठकले वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्ने निष्कर्ष पनि बैठकले निकाले रावलले जानकारी दिए।
यस्तै, पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन उचित र औपचारिक सार्थक वार्ता तथा सहमतिको प्रक्रिया अवलम्बन गरिनुपर्ने निर्णय भएको पनि रावलले जानकारी दिए। ‘केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमित तथा स्थायी कमिटीको बैठकबाट निर्णय प्रस्तावको आधारमा मात्र बोलाइनु पर्दछ,’ नेता रावलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।