काठमाडाैं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘फ्रन्टलाइनर’को सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको बताएका छन्।
युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाइनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामुहिक चित्र बनाएका थिए।
तर, अनेकौं भीडमा लिखित अनुमति लिएर फ्रन्टलाइनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाई दिनुको सट्टा अपमान गरेर नष्ट गरिएको भन्दै काठमाडौं महानगरपालिकाको ब्यवहार निन्दनीय रहेको उनले बताएका छन्।
‘महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरुको कदर गर्दै कसैले कुनैपनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सह्राहना गरिनुपर्दछ । त्यस विपरीतको ब्यवहार निन्दनीय हुन्छ ,’ प्रवक्ता शर्माले बिहीबार विज्ञप्तिमार्फत् भनेका छन्।
आवेगयुक्त र अपमानजनक ब्यवहारबाट महानगरले नकारात्मक सन्देश प्रवाह गर्न खोज्नु न्यायोचित नभएको उनको भनाइ छ।
‘काठमाडौंको अनेक स्थानमा थुप्रीएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ?,’ उनले प्रश्न गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।