काठमाडौं- बंगलादेशमा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन पालना गराउन सेना परिचालन गरेकाे छ। बिहीबारदेखि लगाइएको लकडाउन पालना गराउन प्रहरीका साथै सेनालाई गस्तीमा खटाइएको हो।
कोरोना संक्रमितको संख्या बढेसँगै बंगलादेशमा आज बिहान ६ बजेदेखि ८ जुलाई मध्यरातसम्मका लागि लकडाउनको घोषणा गरिएको छ। यसपटकको लकडाउन पहिलेको तुलनामा कडा बनाइएको बीबीसीले जनाएको छ।
सरकारले २१ नयाँ प्रतिबन्धहरु लगाइएको छ र नियमलाई तोडे जेल सजायको प्रावधान पनि राखिएको छ। सरकारले प्रहरी र सेनालाई अत्यावश्यक काम भएका मानिसहरुबाहेक अरुलाई घर बाहिर निस्किन नदिन निर्देशनसमेत दिएको छ।
‘कुनै विशेष कारणविना बाहिर निस्किने व्यक्तिलाई जरिवाना तिराउन र पक्राउ पनि गर्न सरकारले आदेश दिएको छ। हामी एक दिनमा पाँच हजारलाई मुद्दा दर्ता गर्नुपरे पनि गर्छाै र उनीहरुलाई पक्राउ गर्नु परेपनि हामी गर्छौं,’। राजधानी शहर ढाकाका प्रहरी प्रमुख साफिकल इस्लामले भने।
बंगलादेश सरकारले लकडाउनको समयमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरु र यातायात बन्द रहने बताएको छ। पछिल्लो केही समययता बंगलादेशमा उल्लेख्य संख्यामा कोरोना संक्रमित बढिरहेका छन्। हालसम्म बंगलादेशमा करिब नौ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमणबाट अहिलेसम्म १४ हजार पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ। विशेषज्ञहरुले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या निकै धेरै रहेको हुनसक्ने बताएका छन्।
बंगलादेशमा विशेषगरी भारतमा भेटिएको डेल्टा भेरियन्टका कारण संक्रमण बढिरहेको विशेषज्ञहरुले बताएका छन्। विशेषगरी भारतसँग सीमा जोडिएको क्षेत्रका अस्पतालमा बिरामीको चाप बढेको छ। केही गाउँहरुमा संक्रमण फैलिने दर ७० प्रतिशतसम्म देखिएको छ।
बंगलादेशको इन्स्टिच्युट अफ इपिडिमियोलोजी, डिजिज कन्ट्रोल एन्ड रिसर्चका प्रमुख एस एम अलमगिरले भने, ‘यदी मानिसले नियमको पालन गरेर घरमा नबस्ने हो भने यो लहरले बंगलादेशको स्थिति भयावह बन्न सक्ने छ। यो भाइरस तीव्र गतिमा फैलिरहेको छ र पहिलेभन्दा धेरै मानिसको ज्यान लिइरहेको छ।’
यस्तै, बंगलादेशमा रोकिएको कोरोना खोप अभियान बिहीबारबाटै शुरु हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन्। भारतले कोरोना खोप निर्यातमा रोक लगाएकाले बंगलादेशमा खोप अभियान रोकिएको थियो। बंगलादेशले आइतबारसम्ममा अमेरिकी कम्पनी मोडेर्नाको २५ लाख डोज कोरोना खोप पाउने अपेक्षा गरेको छ।
बंगलादेशमा अहिलेसम्म ४० लाख मानिसले कोरोनाको दुवै डोज लगाएका छन्। यसका अलावा १५ लाख मानिसले एक डोज खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।