काठमाडौं- राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले राष्ट्रपतिको गरिमालाई लिएर प्रश्न उठाएका छन्। बिहीबार सुरु भएको राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले गरेर मात्रै नपुग्ने बताए।
‘संविधान निर्माण गर्दा गणतन्त्र, लोकतन्त्र, संघीयता धर्मनिरपेक्षता समानुपातिक समावेशीतालाई अंगाल्ने भनेर मूल नीति बनाइयो। आज म प्रश्न गर्न चाहन्छु, आज सरकार वा भनौँ प्रधानमन्त्रीको कामकारबाही र निर्णयका कारण सम्माननीय राष्ट्रपति गरिमा आम नेपाली नागरिकबीच बढेको छ कि घटेको छ? सम्माननीय राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले मात्रै गरेर पुग्ने हो। गणतन्त्रमा विश्वास गर्ने सबैले राष्ट्रपतिको संस्थाको रक्षाकवच हुनुपरेन? आज स्थिति के छ, सम्बन्धित सबैले मनमनै गुनुन् भन्ने मेरो आग्रह छ’, उनले भने।
अधिकारीले लोकतन्त्रमा जवाफदेहीता, पारदर्शिता, विधिको शासनको ज्यादै महत्त्व हुने बताउँदै आजको सरकार कोप्रति जवाफदेही छ? भन्दै प्रश्न गरे। ‘सरकारले लिएका वा लिने गरेका निर्णयहरुमा पारदर्शिता कति छ? विधिको शासनको अपेक्षा आम नागरिकले गर्न पाउने वा नपाउने के हो?’, उनले प्रश्न गरे।
अधिकारीले प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई जवाफदेही बनाउन चाहेकैले विघटनमा पर्नुपरेको बताए। ‘संविधान निर्माण गर्दा प्रतिनिधि सभा विघटन नगर्न हामीले विभिन्न संवैधानिक प्रावधान राख्यौँ। तर, आफूलाई असजिलो परेको ठानेर प्रधानमन्त्रीले आफूखुशी प्रतिनिधि सभा विघटन गरेको होइन र?’, उनले भने, ‘प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई जवाफदेही बनाउन चाहेकाले पटकपटक विघटनमा पर्नुपरेको स्पष्ट नै छ। विधिको शासनको अनुपम उदाहरण अध्यादेश-राज हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।