काठमाडौं– संसद विघटनसम्बन्धी मुद्दामा जारी सुनुवाइअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको निजी कानुन व्यवसायीको रुपमा बहसमा उत्रिएका वरिष्ठ अधिवक्ताले एउटा पार्टीको सांसदले कुनै पनि हालतमा अर्को पार्टीको सांसद तथा नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गर्न नसक्ने जिकिर गरेका छन्।
बिहीबारको बहसका क्रममा प्रधानमन्त्रीका निजी कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गरे।
सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गर्ने क्रममा उनले पार्टीभित्रको सदस्य भएपछि आफ्नो पार्टीको निर्णयविपरीत गएर सांसद गणना गर्न नमिल्ने तर्क गरे।
'दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ', वरिष्ठ अधिवक्ता महतोले भने, 'आधार पनि कानुनसम्मत चाहिन्छ, एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देऊ भनेर हुन्छ? त्यसकारण राष्ट्रपतिलाई त्यो आधार उचित लागेन।'
वरिष्ठ अधिवक्ता महतोको उक्त तर्कमाथि प्रधानन्यायाधीश राणाले बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्नका लागि अर्को आधार चाहिन्छ र? भन्ने प्रश्न गरे। प्रधानन्यायाधीशको प्रश्नको जवाफ दिँदै महतोले एउटा दलको सांसद अर्को दलमा गएर सांसदको संख्या बन्न नमिल्ने तर्क गरे।
बहुदलीय शासन प्रणाली भनेको दलको शासन भएको तर्क गर्दै उनले दलभन्दा बाहिर गएर सरकार गठन गर्ने भनेर संविधानमा कतै पनि व्याख्या नगरिएको जिकिर गरे।
'दलमा बसेर दलको निर्णय मान्नु पर्दछ, संसदभित्र दलको भूमिका हुन्छ, संसदीय मामिलामा दलको मातहतमा नै सांसद हुन्, त्यो भन्दा बाहिर जान सक्दैनन्', वरिष्ठ अधिवक्ता महतोले भने, 'एमालेका संसदीय दलका नेता ओलीले मुलुक हाँकिरहेका छन्, उहाँलाई उहाँकै दलका सांसदले हटाएर संसदीय व्यवस्थामा अर्को दलको नेता देउवालाई समर्थन गर्न सक्दैनन् श्रीमान्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।