काठमाडौं- बंगलादेशमा कोरोना संक्रमित फेरि बढेका छन्। संक्रमितको संख्या बढेसँगै बंगलादेशमा आज विहान ६ बजेदेखि ८ जुलाई मध्यरातसम्मका लागि लकडाउनको घोषणा गरिएको छ।
यसपटकको लकडाउन पहिलेको तुलनामा कडा बनाइएको बीबीसीले जनाएको छ। २१ नयाँ प्रतिबन्धहरु लगाइएको छ र नियमलाई तोडे जेल सजायको प्रावधान पनि राखिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार बंगलादेशमा नयाँ डेल्टा भेरिएन्टका कारण पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको छ।
बंगलादेशको इन्स्टिच्युट अफ इपिडिमियोलोजी, डिजिज कन्ट्रोल एन्ड रिसर्चका प्रमुख एस एम अलमगिरले भने, “यदी मानिसले नियमको पालन गरेर घरमा नबस्ने हो भने यो लहरले बंगलादेशको स्थिति भयावह बन्न सक्ने छ। यो भाइरस तिब्र गतिमा फैलिरहेको छ र पहिले भन्दा धेरै मानिसको ज्यान लिइरहेको छ।”
बंगलादेशमा अहिलेसम्म ४०लाख मानिसले कोरोनाको दुबै डोज लगाएका छन्। यसका अलावा १५ लाख मानिसले एक डोज खोप लगाएका छन्, तर भारतबाट खोप रोकिँदा दोस्रो डोज कहिले पाउने भन्ने निश्चित छैन।
सरकारी तथ्यांक अनुसार बंगलादेशमा अहिलेसम्म कुल नौ लाख मामला दर्ज भएको छ र १४ हजार मानिसको मृत्यु भएको छ। तर वास्तविक संख्या यो भन्दा धेरै हुनसक्ने जनाइएको छ। सोमवार ८ हजार ३ सय ६४ जनामा कोरोना देखिएको थियो जुन अहिलेसम्म एकैदिन पाइएको धेरै संख्या हो। भने मंगलबार एकैदिन ११९ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।