फाइल तस्वीर।
काठमाडौं- प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबारको सुनुवाइ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्माको तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका छन्।
अब बहसका लागि साढे ४ घण्टा मात्र समय बाँकी रहेको छ। बुधबार सरकारी पक्षको बहस सकिएर प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवासीले बहस थालेका छन्। प्रधानमन्त्रीका कानुन व्यवासायीलाई उपलब्ध गराइएको समयमा अब साढे तीन घण्टा बाँकी छ।
प्रधानमन्त्रीका कानुन व्यवासायीको बहस सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवासायीले बहस गर्नेछन्। सभामुखका कानुन व्यवासायीलाई बहसका लागि एक घण्टा समय निर्धारण गरिएको छ।
त्यसपछि नेपाल बार र सर्वाेच्च बारबाट झिकाइएका एमिकस क्युरीले आफ्नो राय राख्नेछन्। उनीहरूलाई दुई घण्टाको समय दिइनेछ।
एमिकस क्युरीले राय राखिसकेपछि रिट निवेदक तर्फबाट जवाफी बहस हुनेछ। जसका लागि तीन घण्टा समय निर्धारण गरिएको छ।
यी सबै प्रक्रिया सकिएपछि अदालत फैसलाको चरणमा पुग्नेछ।
प्रतिनिधि सभा विघटन मुद्दामा गत बुधबारदेखि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगै न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते राति प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।