सन् १९३० मा उरुग्वे विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित फुटबल प्रतियोगिता विश्वकप फुटबल आयोजना गर्ने मौका पाएको थियो। १३ जुलाई देखि ३० जुलाईसम्म विश्वकपको आयोजना गर्ने मौका उरुग्वेले पाउने घोषणा एक वर्षअघि बार्सिलोनामा भएको सम्मेलनमा गरिएको थियो।
त्यसअघि मात्रै उरुग्वेले सन् १९२८ मा हल्याण्डको आम्स्टर्डम भएको ओलम्पिक खेलमा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो। उरुग्वेमा रंगशालाहरु खासै व्यवस्थित थिएनन् तर पनि युरोपली राष्ट्रहरुलाई पछि पार्दै दक्षिण अमेरिकी राष्ट्र उरुग्वे विश्वकपको पहिलो संस्करण आयोजना गर्न सफल भएको थियो। पहिलो विश्वकपमा १३ टिम भाग लिएका थिए।
अर्जेन्टिना, चिलि, फ्रान्स, मेक्सिको, युगोस्लाभिया, ब्राजिल, बोलिभिया, आयोजक उरुग्वे , रोमानिया, पेरु, अमेरिका, पाराग्वे र बेल्जियम विश्वकपको पहिलो संस्करणमा छनोट हुन सफल भएका थिए। सहभागी टिमलाई चार समूहमा विभाजित गरिएको थियो। एउटा समूहमा चार राष्ट्र सहभागी थिए भने अन्य समूहमा ३–३ राष्ट्र। प्रतियोगितामा समूह चरणमा शीर्ष स्थान हात पार्दै अर्जेन्टिना, युगोस्लाभिया, उरुग्वे र अमेरिकाले विश्वकपको सेमिफाइनलमा स्थान बनाएका थिए।
अमेरिकालाई सेमिफाइनलमा ६–१ को फराकिलो अन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको थियो। फाइनलमा अर्जेन्टिनासँगको भिडन्तलाई पक्का गर्ने क्रममा आयोजक उरुग्वेले युगोस्लाभियालाई ६–१ कै अन्तरले पराजित गरेको थियो। यसअघि सन् १९२८ को ओलम्पिकमा भिडेका दुई राष्ट्रहरु अर्जेन्टिना र उरुग्वेले नै पहिलो विश्वकपको फाइनलमा स्थान बनाएका थिए। यो प्रतियोगितामा तेस्रो स्थानका लागि भने कुनै भिडन्त नै भएको थिए। जुलाई ३० का दिन उरुग्वेको सेन्टेरियो रंगशालामा पहिलो विश्वकप जितेर इतिहास रच्नका लागि मैदानमा दुई टिमहरु उत्रिएका थिए। पहिलो विश्वकपको फाइनल खेल हेर्न ९३ हजार दर्शकहरु रंगशालामा आएका थिए। अर्जेन्टिनाबाट मात्रै १५ हजार समर्थकहरु फाइनल भिडन्त हेर्न आएका थिए।
फाइनल खेलमा अर्जेन्टिनालाई ४–२ ले हराउँदै आयोजक उरुग्वेले पहिलो विश्वकपको उपाधि आफ्नो पोल्टामा पारेको थियो। पहिलो विश्वकपको उपाधि जित्दै राष्ट्रिय फुटबल टोलिले इतिहास कायम गरेको भोलिपल्ट उरुग्वेमा सार्वजनिक बिदाको घोषणा गरियो। यता अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा भने स्तब्ध समर्थकहरुले उरुग्वेको राजदुतावासमा ढुंगा हाने। प्रतियोगितमा सर्वाधिक ८ गोल गर्ने अर्जेन्टिनाका गियुललेर्मो स्टेबिल पहिलो विश्वकपको सर्वाधिक गोलकर्ता घोषित भए।

पहिलो विश्वकपमा तीनवटा रंगशालाको प्रयोग गरिएको थियो। फाइनल खेल खेलाइएको रंगशाला उरुग्वेको स्वतन्त्रता दिवसको अवसरमा बनाइएको थियो। यो रंगशालालाई अहिले पनि उरुग्वेलीहरु स्वतन्त्रता तथा विजयको प्रतिकका रुपमा हेर्छन।
पहिलो विश्वकपको पहिलो खेल फ्रान्स र मेक्सिकोबीच खेलाईएको थियो। फ्रान्सेली खेलाडी लुसियन लाउरेन्टले विश्वकपको पहिलो खेलको १९ औ मिनेटमा गोल गरेका थिए। विश्वकप फुटबलकै इतिहासमा यो पहिलो गोल हो। मेक्सिकोलाई ३–१ ले हराउदै फ्रान्सले यही खेलबाट विश्वकपको पहिलो खेल जित्ने इतिहास बनाएको थियो।
(भिडियो हेर्नलाई नयाँ विन्डोमा खोल्नुहोला)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।