काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँमा कहीँपनि पार्टीभित्र सम्झौताको परिकल्पना नगरिने बताएका छन्। उनले जब पार्टीभित्र सम्झौता हुन थाल्छ त्यो अस्वस्थताको पराकाष्ठा हो भनेर बुझ्नुपर्ने बताए।
बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले एमालेको एकता जोगाउने प्रयासस्वरुप लचिलो भएको पनि बताए।
'नेताहरूको व्यवस्थापन भनेको छ, समस्या खडा गरेको छ। यो खालको कुराहरू र पार्टीभित्र सञ्चालनका निम्ति सम्झौताको बाटोबाट जानुपर्ने कुरा यो लोकतान्त्रिक प्रणालीभित्र पार्टी पद्धतिभित्र पर्दै पर्दैन। तर, हाम्रोमा यसखालका अभ्यास भए', ओलीले भने, 'जब पार्टीभित्र सम्झौता हुन थाल्छ त्यो अस्वस्थताको पराकाष्ठा हो भन्ने बुझ्नुपर्छ। पार्टी विधिबाट चलिरहेको छैन भन्ने कुरा बुझ्नुपर्छ। पार्टीभित्र छलफल हुन्छ। निर्णय हुन्छ। निर्णय अनुसार अगाडि बढिन्छ।'
उनले एमालेको एकता राष्ट्रिय हितसँग जोडिएको उल्लेख गरे। उनले देश र जनताका समस्या एकातिर रहेको अवस्थामा पनि एमाले जोगाउन कार्यदल बनाइएको बताए।
'हाम्रो एउटा पार्टी होइन। राष्ट्र हाक्ने जिम्मेवारी बोकेको पार्टी हो। राष्ट्र हाँक्ने अभिभारा, जिम्मेवारी बोकेको पार्टीले पार्टीभित्रको समस्यालाई राष्ट्रिय समस्याकै रुपमा लिनुहँदैन', ओलीले थपे, 'पार्टीको भविष्यलाई राष्ट्रिय भविष्यसँग जोडेर हेर्नुपर्ने अवस्था आयो। केही अस्वस्थ कुराहरूलाई, अनुचित कुराहरूलाई स्वीकार गर्याैं। पार्टीको एकता जोगाउँ भनेर लचिलो भयाैं। पटक-पटक सम्झाैता गर्याैं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।