काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीति र राज्य प्रणालीमा संकट र अन्यौलको अवस्था देखा परेको बताएका छन्।
पूर्वराजा शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काउनेले जनताको ठोस सुख सुविधामा ध्यान नदिएको पनि बताएका छन्।
बुधबार एक वक्तव्य (सन्देश) जारी गर्दै शाहले भनेका छन्, ‘राजनीति, राज्य प्रणाली एवम् राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको छ। परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरेपनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ।’
पूर्वराजा शाहले अप्रत्यक्ष रुपमा राजनीतिक दलका नेताको आलोचना गर्दै भनेका छन्, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने, तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ।’
केही समय अगाडि कोरोना भाइरस संक्रमणपछि लामो समय अस्पताल बसेका पूर्वराजा शाहले अहिले आफ्नो स्वास्थ्यमा सुधार आउँदै गएको पनि बताएका छन्।
तर, कोभिड १९ को महामारी र वर्षाजन्य विपत्का कारण जनजीवन दुःखद् अवस्थामा रहेको भन्दै आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको पूर्वराजा शाहले जानकारी दिएका छन्।
‘जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेका छौं,’ पूर्वराजा शाहले जारी गरेको वक्तव्यमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।