काठमाडौं- ब्राजिलको स्वास्थ्य मन्त्रालयले भारतीय कम्पनी भारत बायोटेकको कोरोनाविरुद्धको खोप खरिदको सम्झौता रद्द गरेको छ। ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोकाे सरकारमाथि काेराेनाविरुद्ध खोप खरिदमा अनियमितता गरेको आरोप लागेको उक्त सम्झाैता रद्द गरिएकाे हाे।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार गत फेब्रुअरीमा ब्राजिलले भारत बायोटेकसँग दुई करोड डोज खोप खरिदको सम्झौता गरेको थियो। उक्त सम्झौता भारत बायोटेकले भनेकै मूल्य अर्थात ३२ करोड ४० लाख डलरमा गरिएको थियो।
यद्यपि, बोल्सोनारोले भने आर्थिक अनियमितताको आरोप अस्वीकार गर्दै आएका छन्। उनले ब्राजिलमा अहिलेसम्म बायोटेकको खोप नआएको र कम्पनीलाई कुनै भुक्तानी पनि नदिइएको बताएका छन्।
‘हामीले कोभ्याक्सिनका लागि न पैसा खर्च गरेका छौं न अहिलेसम्म कोभ्याक्सिनको कुनै खोप ल्याएका छौं। यसमा भ्रष्टाचारको कुरा कहाँबाट आयो?’ गत शुक्रबार ब्राजिलका बोल्सोनारोले भनेका थिए।
यद्यपि, ब्राजिलका संघीय अभियोजकले याे विषयमा अनुसन्धान सुरु गरेपछि बोल्सोनारोको टाउको दुखाइ बन्दै आएको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बोल्सोनारोमाथि उच्च मूल्यमा भारत बायोटेकको कोरोना खोप खरिदको सम्झौताको लागि दबाब आएको बताएका छन्।
त्यसैले मन्त्रालयको एक टोलीले पनि याे विषयमा अनुसन्धान गर्ने छ। मन्त्रालयका अनुसार सीजीयूको सुरुआती विश्लेषणमा कुनै अनियमितता पाइएको थिएन। तर, आरोप लागेकाले यो सम्झौता रद्द गरिएको हो।
ब्राजिलमा फाइजरले गतवर्ष कोभ्याक्सिनभन्दा पनि कम मूल्यमा खोप दिने प्रस्ताव गरेको थियो। तर, सरकारले फाइजरको प्रस्तावमा उदासीनता देखाएले उक्त सम्झौतामाथि प्रश्न उठेको थियो।
ब्राजिलमा कोरोना संक्रमणको कारण अहिलेसम्म ५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ।
गत महिना ब्राजिलमा कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै मुलुकभर बोल्सोनारोको विरुद्धमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा हजारौं मानिसहरु सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।