काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा माथि पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन्।
संसद दिवस २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले संघीय संसद, प्रतिनिधि सभाको दोस्रो पटक असंवैधानिक विघटन गरिएको र त्यसले संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका हुन्।
'यस वर्ष संसद दिवस मनाउँदै गर्दा हामीले चौतर्फी संकट बेहोरिरहेका छौं। कोभिडसंकट जारी रहँदा यस बीचमा संघीय संसद, प्रतिनिधि सभाको दोस्रो पटक असंवैधानिक विघटन गरिएको अवस्था छ', शुभकामना सन्देशमा भनिएको छ, 'संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ।'
मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता भएको सभामुख सापकोटाको भनाइ छ। संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती संघर्ष र आन्दोलनका बलमा निर्मित संविधान अनुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने उनको विश्वास छ।
वि.सं.२०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद दिवस मनाउने गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।