काठमाडौं– उत्तर कोरियाली शासक किम जोङ उनले कोभिड–१९ महामारीविरुद्धको कार्यमा सफलता हात पार्न नसेको र त्यसले ‘गम्भीर संकट’ उत्पन्न हुँदा देश र नागरिक खतरामा परेको भन्दै पार्टीका शीर्ष नेताको आलोचना गरेका छन्।
राज्य नियन्त्रित मिडिया केसीएनएका अनुसार मंगलबार भएको वर्कस पार्टी अफ कोरियाको पोलिटब्युरो बैठकमा किमले शीर्ष नेताहरुलाई गाली गरेका थिए। तर, के भएको हो र कसरी यसले मानिसहरुलाईलाई जोखिममा पार्यो भन्नेबारे केही उल्लेख नगरिएको समाचार संस्था रोयटर्सले जनाएको छ।
भाइरविरुद्धको लडाइका बारेमा पार्टीले तय गरेको दीर्घकालीन उपाय लागू गर्न जिम्मेवार अधिकारीहरुले वेवास्ता गरेको र त्यसले मानिसको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको किमले बताएको केसीएनएले उल्लेख गरेको छ।
केही पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटीका सचिवहरु र केही राज्यका अधिकारीलाई किमले जिम्मेबारीबाट हटाएका छन्। तर कोभिड–१९ विरुद्धसँग सम्बन्धित निर्देशनको उपेक्षाका कारणले उनीहरुलाई हटाइएको बारे केसीएनएले स्पष्ट गरेको छैन।
‘उत्तर कोरियाले कोरोना भाइरसबाट आफ्ना नागरिकको सुरक्षालाई राष्ट्रिय अस्तित्वको रुपमा लिएको छ र महामारीविरुद्धको निर्णयहरु केही उच्च तहका नेताहरुले गर्ने गरेका छन्,’ उत्तर कोरियाको स्वास्थ्य परियोजनामा काम गरेका हार्वर्ड मेडिकल स्कुलका की बी पार्कले भने।
उत्तर कोरियाले आधिकारिक रुपमा कसैमा पनि कोभिड–१९ संक्रमणको पुष्टि भएको जनाएको छैन। दक्षिण कोरिया र अमेरिकी अधिकारीहरुले उत्तरको यस्तो दाबीमाथि प्रश्न उठाउने गरेका छन्।
कोभिडको संक्रमण पुष्टि नगरेपनि उत्तरले महामारी नियन्त्रणका लागि छिमेकी देशहरुसँगको सीमा महिनौंदेखि बन्द गरेको छ भने आन्तरिक आवतजावतमा पनि नियन्त्रण राखेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्दै आएको उत्तरले सीमा नाका बन्दा गर्दा थप संकट ब्यहोरिरहेको छ। पछिल्लो समय उत्तरले खाद्य संकटको सामना गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।