फाइल तस्वीर
काठमाडौं– नेकपा (एमाले)को १०औं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा बस्दै छ। हिजो (मंगलबार) सम्पन्न स्थायी कमिटी बैठकले भंग गर्ने निर्णय गरिसकेपनि यसअघि नै निर्धारित भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक नरोकिने पार्टी कार्यालय सचिव शेरबहादुर ताममाङले बताए।
प्रधानमन्त्री निवासमा बिहान ११ बजे बस्ने बैठकमा पार्टीभित्र देखिएका विवाद समाधानका विषयमा छलफल हुने तामाङको भनाइ छ।
मंगलबारको स्थायी कमिटीको बैठकले गरेको निर्णयलाई बुधबारको महाधिवेशन आयोजक कमिटीले अनुमोदन गर्ने र त्यसपछि साबिककै केन्द्रीय कमिटीको संरचना लागु हुने तामाङले बताए। मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादको मुद्दामा सर्वोच्च अदालतले २३ फागुन २०७७ मा सुनाएको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र साबिक (एकता पूर्व)कै अवस्थामा फर्किएका थिए।
सर्वोच्चको फैसलापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी भंग गरी दशौं महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गराएका थिए।
ओलीको उक्त निर्णयप्रति वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले विरोध जनाउँदै आएको थियो। पार्टी भित्रको विवाद समाधानका विषयमा हुने वार्ताहरुमा नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काइनुपर्ने विषयलाई प्रमुखताका साथ उठाउँदै आएको थियो।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले नवौं महाधिवशेनको संगठनात्मक ढाँचामा पार्टीलाई फर्काउनुपर्ने माग राखेका थिए। यो मागमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष पहिले सकारात्मक थिएन।
अध्यक्ष ओलीले एकलौटी रूपमा गठन गरेको १९ सदस्यीय स्थायी कमिटी बैठकले नै पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्ने निर्णय गरेको छ। यो निर्णयलाई नेपाल पक्षका नेता भीम रावलले छलफलविनै आएको निर्णय भन्ने प्रतिक्रिया दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।