काराकास- भेनेजुएलाका स्वास्थ्य अधिकारीहरुले कोभिड-१९ विरुद्ध राजधानी काराकासमा व्यापक खोप अभियान सुरु गरेको बताएका छन्। भेनेजुएलाले यस अभियानमा क्युबामा निर्माण गरिएको अब्दला खोप प्रयोग गरेको छ।
क्युबाली खोप उत्पादक बायोक्युबा फर्माका स्थानीय प्रतिनिधि पेड्रो अल्मेन्डेर्सले यस खोप अभियानमा प्रयोग भएको क्युबाली खोप पहिलो डोज लगाइने बताउँदै यसको प्रभावकारिता निकै उत्कृष्ट रहेको दाबी गरे।
हालैमात्र क्युबाले भेनेजुएलाको स्वास्थ्य मन्त्रालयसँग एक करोड २० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको थियो। यो खोप आगामी चार महिनाभित्र भेनेजुएलालाई उपलब्ध गराइने क्युबाली अधिकारीहरुले बताएका छन्।
दुई देशबीच भएको यो सम्झौताबाट करिब ४० लाख भेनेजुएलाका नागरिकलाई खोप दिन पुग्नेछ। क्युबामा निर्मित अब्दला खोप तीन डोज लगाउनुपर्दछ।
पहिलो चरणमा ३० लाख डोज खोप भेनेजुएला आइपुगेको र यसबाट १९ देखि ८० वर्षका १० लाख व्यक्तिलाई खोप दिन सकिने बायोक्युबा फर्माका अल्मेन्डेर्सले बताए।
क्लिनिकल परीक्षणमा अब्दला खोपले नयाँ भेरियन्टसमेतमा काम गर्ने बताउँदै अल्मेन्डेर्सले भने, 'यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।