काठमाडौं– नेकपा एमालेको दशौं महाधिवेशन आयोजन कमिटी भंग भएको छ। मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले दशौं महाधिवेशन आयोजक कमिटी भंग गर्ने निर्णय गरेको हो।
मंगलबारको बैठकको निर्णयानुसार अब पार्टी २०७५ जेठ २ गतेको स्थितिमा फर्किएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताए। ‘महाधिवेशन आयोजक कमिटी भंग गर्ने निर्णय भएको छ। त्यो भनेको पार्टी संरचना अब २०७५ जेठ २ गतेको स्थितिमा फर्किएको हो। यो औपचारिक निर्णय हो,’ ती स्थायी कमिटी सदस्यले नेपाल लाइभसँग भने।
यद्यपि, बुधबारका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक भने नरोकिने ती स्थायी कमिटी सदस्यको भनाइ छ।
मंगलबारको स्थायी कमिटीको बैठकले गरेको निर्णयलाई बुधबारको महाधिवेशन आयोजक कमिटीले अनुमोदन गर्ने र त्यसपछि साबिककै केन्द्रीय कमिटीको संरचना लागू हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
तामाङका अनुसार साबिक (२०७५ जेठ २ सम्म कायम) केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाउने निर्णय समेत भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादको मुद्दामा सर्वोच्च अदालतले २३ फागुन २०७७ मा सुनाएको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र साबिक (एकता पूर्व)कै अवस्थामा फर्किएका थिए।
सर्वोच्चको फैसलापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले २८ फागुन २०७७ मा केन्द्रीय कमिटी भंग गरी दशौं महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गराएका थिए।
ओलीको उक्त निर्णयप्रति वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले विरोध जनाउँदै आएको थियो। पार्टी भित्रको विवाद समाधानका विषयमा हुने वार्ताहरुमा नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काइनुपर्ने विषयलाई प्रमुखताका साथ उठाउँदै आएको थियो।
कर्णाली प्रदेश सभाका ४ जना सांसदहरुलाई गरिएको कारबाहीका सन्दर्भमा सर्वोच्च अदालतले केही हप्ता अगाडि जारी गरेको आदेशमा महाधिवेशन आयोजक कमिटीलाई वैधानिक संरचना मान्न नसकिने ठहर गरेको थियो।
अदालतको आदेश र माधव समूहको मागअनुसार ओली पक्ष पार्टी संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।