काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अवमूल्यन किमार्थ स्वीकार्य नभएको बताएका छन्। मंगलबार संसद् भवनमा आयोजित सम्पादहरुसँगको छलफलको शुरुवातमा धारण राख्दै उनले जनताको सर्वोच्च जनप्रतिनिधि संस्थाको अधिकार पटक पटक हनन् भएकोमा चिन्ता व्यक्त गरे।
सभामुखले राज्यका तीन अंग बीचको सन्तुलन नराम्रोसँग बिग्रिएको बताए। उनले राजनीति र प्रशासनिक सन्तुलन पनि बिग्रिएको बताए। बेलायतको संसदमा नेपालको कोभिड संकटका बारेमा छलफल भएको, तर प्रतिनिधि सभामा यो छलफल हुन नपाएको भन्दै सभामुख सापकोटाले देशमा कानुनको सर्वोच्चता नमान्ने अवस्थाको सिर्जना हुनु दुःखद भएको बताए।
उनले हाल देशमा बहुआयामिक संकट आइपरेको बताए। ‘यस्तो बेला जनतालाई राज्यका तीन अंगले कसरी काम गरिरहेको छ भनेर जानकारी दिनुपर्ने छ’, उनले भने।
सापकोटाले संघीय संसदको नेतृत्वको हिसाबले संविधानको परिधिभित्र रहेर खेल्ने भूमिका के हुन सक्छ? भन्दै सुझाव मागेका थिए। उनले आफूले राष्ट्रिय हित, संविधान र लोकतन्त्रको रक्षार्थ प्रभावकारी हस्तक्षेपका लागि बल गरिरहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।