काठमाडौं- विभिन्न विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालयलाई पाँच बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। मंगलबार त्रिविका उपकुलपति प्राध्यापक डा धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाउँदै १० दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने विद्यार्थी संगठनहरूले चेतावनी दिएका छन्।
उनीहरूले कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विश्वविद्यालयले निर्धारण गरेको शैक्षिकसत्रको समयावधि परीक्षा नलिइकन समाप्त भएकोले उपयुक्त विधि र समयावधि तय गरी परीक्षा सञ्चालन गर्न, एमफील र पीएचडी भर्नाको समस्या तत्काल समाधान गर्न माग गरेका छन्।
अनुसन्धान कार्यलाई सहज, व्यवहारिक र वैज्ञानिक बनाउने कार्यमा विद्यार्थीसँग गम्भीर छलफल गरेर निकास निकाल्नुपर्ने उनीहरूको भनाइ छ।
यस्तै, विश्वविद्यालयले आंगिक क्याम्पसमा लागू गरिएका सबै विषयहरूलाई निजी क्षेत्रबाट सञ्चालन गर्न बन्द गर्न, देशभर कानुन पढ्ने विद्यार्थीहरुको चाप बढेको हुनाले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा कानुन विषय अध्ययन, अध्यापनको व्यवस्था मिलाउन र त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका शैक्षिक संस्थाको शुल्क निर्धारण विश्वविद्यालयले तोकी लागू गर्ने र लागू नगर्ने शैक्षिक संस्थालाई कारबाही गर्न विद्यार्थी संगठनहरूले माग राखेका छन्।
विद्यमान क्यालेन्डर लागू नहुने अवस्थामा शैक्षिकसत्र खेर जाने, खप्टिने लगायतका समस्याले अन्योल र विद्यार्थीको भविष्य अनिश्चित बनाएकोकाले शैक्षिक सत्रको विषयमा देखिएका समस्या समाधानमा गम्भीरतापूर्वक कार्ययोजना ल्याइ लागू गर्न तथा क्याम्पसहरूमा हरेक वर्ष शुल्क बढाउने कार्य बन्द गर्न उनीहरूले भनेका छन्। लकडाउनको अवधिको शुल्क मिनाहा गरिनुपर्ने समेत उनीहरूको माग छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।