काठमाडौं– सभामुख अग्निप्रसाद सपाकोटाले आज (मंगलबार) विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्ने भएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे सम्पदकहरुसँग छलफल कार्यक्रम तय भएको सभामुखको सचिवालयले जनाएको छ।
यसअघि सभामुखले जेठ ११ गते पूर्वसभामुखसँग छलफल गरेका थिए। संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छलफलमा रामचन्द्र पौडेल, ओनसरी घर्ती, कृष्णबहादुर महरा उपस्थिति थिए। त्यस्तै, तारानाथ रानाभाट भर्चुअल माध्यमबाट जोडिएका थिए।
त्यसैगरी सभामुख सापकोटाले जेठ १३ गते संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग मूलतः प्रतिनिधि सभाको जेठ ८ गते गरिएको असंवैधानिक विघटनका विषयमा परामर्श गरेका थिए।
सोही छलफलमा उनले सदन बोलाउने संकेत गरेका थिए। जनताले दिएको सार्वभौम अधिकार आवश्यक पर्दा प्रयोग गर्नुपर्छ भन्ने उनको भनाइ थियो।
जेठ २८ गते उनले पूर्वप्रधानमन्त्री तथा संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गरेका थिए।
यी छलफलका अतिरिक्त सभामुखले अन्य अनौपचारिक छलफल पनि गरिरहेका छन्।
प्रतिनिधि सभा विघटन भएपछि जेठ ८ गते नै विज्ञप्ति जारी गरेर उनले प्रतिनिधि सभा विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए। ‘संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन’, विज्ञप्तिमा भनिएको थियो, ‘राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन २०७३ र प्रतिनिधि सभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिंदैन । जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको छ।‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।