काठमाडौं- न्यायाधीश ईश्वरप्रसाद खतिवडाले स्वतन्त्र सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिन चाहेमा के हुन्छ भनेर इजलासमा प्रश्न गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा मंगलबार सरकारी पक्षबाट बहस गरिरहेका नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई न्यायाधीश खतिवडाले यस्तो प्रश्न गरेका हुन्।
जवाफमा पाण्डेयले सरकारलाई दिएको समर्थन दलले फिर्ता लिन मिल्ने तर, संविधानले सांसदलाई स्वतन्त्र रूपमा निचन्ने बताए।
'सरकारलाई समर्थन दिइसकेपछि कहिल्यै फिर्ता लिन नमिल्ने हुन्छ कि के हुन्छ? संविधानमा दलले फिर्ता लिन चाहेमा लिन सक्छ पनि भनेको छैन, अर्थात् साइलेन्स पनि छैन', न्यायाधीश खतिवडाले सोधे।
पाण्डेले संविधानले दललाई मात्र चिनेको दोहोर्याए। 'मैले मिल्छ भनेको छैन, मिल्दैन पनि भनेको छैन। दलले फिर्ता लिन सक्छ भन्ने व्यवस्था संविधानले भनेको छ। संविधानले दललाई मात्र चिनेको छ।'
दलबाट निर्वाचित सांसलले व्यक्तिगत रुपमा कुनै अर्को पार्टीलाई समर्थन गर्न नमिल्ने उनले बताए। 'कानुनी रुपमा छुट्टै बस्न पाइन्छ तर, अर्को दलको नेतालाई समर्थन गर्ने अधिकार सांसदलाई छैन। कि पार्टी फुटाएर जानुपर्यो। होइन घरमै बस्छु भन्ने अनि अर्को दललाई समर्थन गर्छु भन्न मिल्दैन', उनले भने।
अर्को दलको नेतालाई समर्थन गर्ने अधिकार सांसदलाई नभएको उल्लेख गर्दै पाण्डेयले यसो गर्नु गैरसंवैधानिक र जनताको मतको अपमान हुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।