काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यताको मापदण्ड बनाउने जिम्मेवारी नेता कृष्णप्रसाद सिटौलालाई दिइएको छ। केन्द्रीय समितिले दिएको जिम्मेवारी अनुसार सिटौलाले मापदण्ड आज पेश गर्ने बताइएको छ।
सिटौलाले तयार गरेको मापदण्ड क्रियाशील छानबिन समितिलाई आज प्राप्त हुने समिति सदस्य प्रदीप पौडेलले जानकारी दिए।
करिब ८ लाख २० हजार क्रियाशील सदस्यता मध्ये पाँच लाखको मात्रै नाम टुंगिएको छ। पाँच सय भन्दा बढी वडामा क्रियाशील सदस्यताबारेमा विवाद रहेको बताइएको छ।
पार्टी केन्द्रको निर्देशन विपरितका नाम सूचीकृत भएपछि समस्या देखिएको छ। छानबिन समितिलाई मुख्य समस्या शत प्रतिशत भन्दा बढी नाम आएका स्थानको सूची तयार गर्न रहेको छ। केन्द्रले शत प्रतिशतसम्म बढाउने पाउने गरी निर्णय गरेको थियो।
कतिपय स्थानबाट तोकिएको संख्या भन्दा बढी सदस्य दर्ता भएका छन्। तोकिएको संख्या भन्दा बढी आएका नाम कटौतीको मापदण्ड पार्टीमा बनेको थिएन।
अर्को तर्फ, उपसभापति विजयकुमार गच्छेदार पक्षबाट कांग्रेसमा आएकालाई क्रियाशील सदस्यता दिने प्रक्रियामा विवाद छ। संस्थापनइतरले पार्टीले बनाएको मापदण्ड लागू गरेर उनीहरुले सदस्यता प्राप्त गर्नुपर्ने अडान लिएको छ।
संस्थापनपक्षले केन्द्रले निर्णय गरे अनुसार प्रवेश भएका सबैले क्रियाशील सदस्यता पाउनुपर्ने तर्क गरेको छ। उक्त समस्या राप्रपा परित्याग गरी आएका सुनिल थापाका पक्षका कार्यकर्तालाई समावेश गर्ने विषयमा पनि छ।
जिल्लाका चार तहले प्रमाणीकरण गरेर नाम सूचीकृत हुनुपर्नेमा त्यो मापदण्ड पालना नगरी नाम पठाइएपछि समस्या देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।