काठमाडौं- पार्टीभित्र छुट्टै धार निर्माण गर्ने गरी छलफल अघि बढाएका नेपाली कांग्रेसका शीर्ष तीन नेताबीच आज पनि छलफल हुने भएको छ। उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच मंगलबार पनि छलफल हुन लागेको हो।
नेता सिंहको चाक्सिबारीस्थित निवासमा साढे ११ बजेपछि लञ्चसहितको बैठक बस्न लागेको जनाइएको छ। यी नेताहरुबीच यसअघि निधि र कोइराला निवासमा छलफल भएको थियो।
आजको छलफल गत साताको सोमबार र शुक्रबारको छलफलकै निरन्तरता भएको नेताहरुले बताएका छन्।
यसअघिको छलफलमा पार्टीभित्र तीन नेताको पहलमा वृहत एकता गर्ने समझदारी भएको र आफ्नो समूहलाई दीर्घकालीन बनाउने विषयमा नेताहरुबीच सैद्धान्तिक समझदारी बनेको बताइएको थियो।
नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरुले भेटघाट र छलफललाई तिब्रता दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।