काठमाडाैं- तालिबानले अफगानिस्तानमा जबरजस्ती सत्ता कब्जा गर्न खोजे सीमाना बन्द गर्ने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चेतावनी दिएका छन्।
पाकिस्तानले तालिबानलाई अफगान सरकारसँग वार्तामा संलग्न हुन दबाब दिन सबै प्रयास गर्ने उनले बताएका छन्। यद्यपि, अफगानिस्तानीकाे सत्ता तालिबानले कब्जा गर्न खोजेमा आफ्नो देशसँगको सीमाना ‘डुरान्ड लाइन’ बन्द गर्ने उनले प्रष्ट पारे।
यो सीमानाले पाकिस्तानको व्यापारिक सम्बन्धलाई मध्य एशियाली देशहरूसँग जोड्दछ । पाकिस्तानले अफगानिस्तानसँगको ८० प्रतिशतभन्दा बढी ‘डुरान्ड लाइन’मा बार लगाइसकेको छ ।
पछिल्लो केही समययता निरन्तर अमेरिकाको गठबन्धनमा आबद्ध मुलुकले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरिरहेका छन्। यसैबीच अफगानिस्तानमा विद्रोही तालिबानले पनि आफ्नो कब्जा बढाउँदै लगेको छ।
तालिबानले गत मंगलबार मात्रै ताजकिस्तानसँगको प्रमुख सीमामा पनि नियन्त्रण कायम गरेको अधिकारीहरुले बताएका छन्। कुन्दुज प्रान्तको सो शिर खान बन्दरगाह कब्जा गरेको छ।
तालिबान बिद्रोहीले राज्यको राजधानीबाहेक सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमहरुले पनि तालिबानले आफ्नो पकड बिस्तार गर्दै लगेको उल्लेख गरेका छन्। यद्यपि, राष्ट्रसंघले अफगानिस्तानमा पुनः हिंसा र अस्थिरताको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।