काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिप्रति सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्।
‘माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न बौलाहा कुकुरले टोकेको छ र’ भन्ने ओलीको अभिव्यक्तिप्रति सबैको ध्यान जानुपर्ने नेता नेपालको भनाइ छ।
‘मलाई बौलाहा कुकुरले टोक्या छ र? भनेर कति राम्रो कुरा भन्नुभएको छ। त्यसमा सबैको ध्यान जाओस्, धेरै कुरा भन्न चाहन्न,’ सोमबार विपक्षी गठबन्धनले नयाँ बानेश्वरमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै नेता नेपालले भने।
प्रधानमन्त्री ओलीले अरुलाई मानसम्मान गर्न र मर्यादा राख्नुपर्छ भनेर पाठ सिकाउने, तर आफूले भने मर्यादा नाघेर बोल्ने गरेको नेपालले टिप्पणी गरे।
‘ओलीजी मानसम्मान र मर्यादा राख्नुपर्ने भन्ने गर्नुहुन्छ। उहाँका भाषण सबै रेकर्ड गरेर राख्नुहोला। त्यो बडो मननीय छ। ध्यान दिन लायक छ। सबैले सिक्नैपर्छ। त्यसले पोजेटिभ सिकाउँछ कि नेगेटिभ सिकाउँछ, त्यो आफ्नै ठाउँमा छ,’ नेता नेपालले भने, ‘तर सिक्नु चाहिँ पर्छ। माथि कस्तो बानी छ, त्यसको असर तल तलसम्म पनि जाँदोरहेछ।’
आफूहरु देश र जनताका लागि, मुलुक सुन्दर बनाउन लागि परेको नेपालले दाबी गरे। आफूहरुले गल्ती गरेको भए जनताको अदालतमा उभिन तयार रहेको पनि नेपालले चुनौती दिए।
'यो गबन्धनको मुख्य उद्देश्य संविधानको रक्षा गर्नु हो। यो मान्यताबाट हामी कहिलै विचलित हुने छैनौं’, नेपालले भने, ‘म आफैं २०४७ सालको संविधान निर्माण गर्ने कार्यमा जुटे । २०६३ सालको अन्तरिम संविधान निर्माण गर्ने क्रममा जुटे। त्यसपछि अहिलेको संविधान निर्माण गर्ने कार्यमा लागेको हुँ।’
नेता नेपालले अहिलेको लडाइँ कुनै कुनै व्यक्तिको नभएर प्रवृत्तिको भएको बताए। नेता नेपालले ओलीको स्वेच्छाचारी कदमका विरुद्ध अन्तिमसम्म लड्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।