काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले काठमाडौंलगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन्।
आइतबार बिहान बसेको नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी यनियन, अखिल छैटौँ लगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले संसद् विघटनविरुद्ध सामूहिक प्रदिवाद गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले बताए।
प्रधनामन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। अदालतको स्वतन्त्र निर्णयमा हस्तक्षेप नगर्न दबाब सिर्जना गर्न आन्दोलन गर्न लागिएको पाँच विद्यार्थी संगठनको भनाइ छ। संवैधानिक व्यवस्था अनुसार अदालतले संसद् पुन:स्थापना गर्नेमासमेत ती संगठनहरुले विश्वास व्यक्त गरेका छन्।
यस्तै विश्वविद्यालयमा देखिएका परीक्षालगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न ज्ञापनपत्रसहित उपकुलपतिसमक्ष संयुक्त डेलिगेसन जाने निर्णय भएको प्रवक्ता मैनालीले बताए। निषेधाज्ञा अवधिको शुल्क विद्यार्थीलाई अविलम्ब फिर्ता गर्न माग गर्दै विज्ञप्तिमा शुल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्थाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ।
मन्त्रीजस्तो पदको मर्यादासमेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानुनलाई चुनौती दिनेगरी गरेको हर्कतको तीव्र विरोध गर्दै विद्यार्थी संगठनहरुले दलित आन्दोलनप्रति ऐक्यबद्धतासमेत जाहेर गरेका छन्।
साथै, सरकारसँग आमविद्यार्थी र शिक्षकलगायतलाई शीघ्र खोपको व्यवस्था गरी शैक्षिक वातावरण तयार गर्न माग गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।