काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दन्त्यकथाको 'निलवर्ण स्याल' र 'छेपारो'सँग तुलना गरेका छन्।
ओलीले दन्त्यकथा सुनाउँदै प्रचण्डलाई 'निलवर्ण स्याल' र 'छेपारो'सँग तुलना गरेका हुन्। उनले कथा सुनाए, ‘निलो वर्णको रङ भरिएको ठाउँमा स्याल पानी खान गयो। झुक्किएर भित्र खसेछ, स्याल पूरै निलो भयो। त्यसपछि स्याल जंगल गयो। ऊ त अर्कै रङको छ। उसले जंगलमा पुगेपछि म विशेष प्रकारको प्राणी हुँ भन्न थाल्यो। निल वर्णको म मात्रै यस्तो जीव हुँ भन्न थाल्यो। म जंगलको राजा हुँ भन्यो । जनावरले पत्याउँदै गए। सबैले होला भन्ठाने। अलिकति साँझ परेपछि अलिक पर स्याल कराउन थाले। त्यसपछि त्यो पनि ठाडो घाँटी लगाएर कराउन थाल्यो। स्यालको धर्म के हुन्छ भने अरु कराएपछि कराउनै पर्ने । स्याल भन्ने उसको कराउने धर्मबाट थाहा पाएपछि बाघले झप्पु दिएर समात्यो।’
ओलीले प्रचण्ड पनि त्यस्तै रहेको बताए। त्यसैले उनी बोलेपछि चिनिने ओलीको भनाइ थियो। प्रचण्डले रङ फेर्दै हिँडेको नेपाली जनताले बिर्सिएको देखेर छक्क लाग्ने गरेको उनले बताए।
केही दिनअघि अहिलेका राष्ट्रपतिभन्दा राजामहाराजाको शान रहेको भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले प्रचण्डलाई छेपारोको संज्ञा दिए। उनले भने, ‘प्रचण्डले राष्ट्रपति भन्दा राजा राम्रो भने। मान्छेहरुले किन छक्क माने? छेपारोले रङ फेरिरहन्छ।’
प्रचण्डले कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्ने, कहिले किन छिमेकीले हस्तक्षेप गर्दैनन् भनेर हिँडिरहेको उल्लेख गरे। उनले भने, ‘कहिले गणतन्त्र मैले ल्याएँ भन्छ, कहिले राष्ट्रपति भन्दा राजा राम्रो राजा भन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।