काठमाडौं– नेकपा एमालेले केन्द्रिय कमिटी विघटन गरेर गठन गरेको १० औं महाधिवेशन आयोजक कमिटी पनि भंग गर्ने तयारी गरेको छ।
विभाजनको डिलमा पुगेको पार्टीलाई ‘एकताबद्ध बनाउने’ भन्दै एमालेमा यस्तो तयारी भएको हो।
आइतबार बिहान बसेको स्थायी कमिटी बैठकले यसबारे निर्णय गरेको एमाले नेता सुवासचन्द्र नेम्वाङले नेपाल लाइभलाई बताए।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएयता वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालपक्ष एमालेका कुनै पनि बैठकमा सहभागी छैन। त्यसयता एमालेका सबै बैठकमा ओलीपक्षमात्र सहभागी हुँदै आएको छ। नेपाल–खनाल पक्ष अर्को पार्टी गठनसम्मको तयारीमा जुटेपछि ओलीले विवादको जड बनेको महाधिवेशन आयोजक कमिटी भंग गर्ने तयारी गरेका हुन्।
‘हामीले यसबारे निर्णय लिन १५ गते स्थायी कमिटी बैठक बोलाएका छौं, १६ गते आयोजक कमिटीको बैठक बोलाइएको छ’, नेम्वाङले भने, ‘देशभरका कार्यकर्ताहरुको पार्टीलाई एकताबद्ध राख्ने चाहना सम्बोधन हुनेगरी हामी निर्णय गर्दैछौं। अब पार्टीलाई एकताबद्ध बनाउँछौं।’
एमालेमा नेपाल–खनालपक्षले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएको छ। त्यसकै निम्ति आयोजक कमिटी भंग गरेर केन्द्रिय कमिटी ब्युँताउने निर्णय गर्न लागिएको अर्का एक नेताले बताए।
कर्णाली प्रदेशका एमाले सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले नै महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयले वैधता नपाउने आदेश दिएको थियो। त्यसविरुद्ध एमालेको ओलीपक्ष भ्याकेट लिएर सर्वोच्च पुगे पनि सर्वोच्चले त्यसअनुसार निर्णय दिन अस्वीकार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।