काठमाडौं- नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले दशौँ महाधिवेशन आयोजक कमिटीको वैधतामाथि प्रश्न उठाउने सर्वोच्च अदालतको आदेशपछि एमालेलाई परेको समस्यामा 'खुच्चिङ' नगर्न आग्रह गरेका छन्। आइतबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुको चिन्ता मुलुकको दलीय प्रणालीसँग भएको बताए।
‘हाम्रो चिन्ता अहिले नेकपा (एमाले)लाई अप्ठ्यारो पर्यो भनेर होइन। कर्णाली प्रदेशका चार जना साथीहरु, जो कारबाहीमा परेका छन्। उनीहरु आउँदा, कायम रहँदा र त्यहाँ समझदारी हुने हो भनेदेखि क्षणिक रुपमा त एमालेलाई फाइदै छ। किनकी एमालेको सरकार बन्छ। प्रश्न यो होइन। प्रश्न, फ्लोर क्रस गर्दाखेरी पनि यदि कारबाहीको विषय बन्दैन भने, के यो मुलुकमा दलीय प्रणाली टिक्छ?,’ उनले प्रश्न गरे।
उनले २०५२ सालमा पनि एमालेप्रति खुच्चिङ गर्दा कालान्तरमा बहुदलीय प्रणाली समाप्त भएको बताए। ‘२०५२ सालमा साथीहरुले त्यसैगरी खुच्चिङ गर्नुभएको थियो। गैरसंवैधानिक ढंगले वा संविधानको नाउमा एमालेको लोकप्रिय सरकारलाई अदालतको फैसलाबाट बर्खास्त गर्दाखेरी त्यसले राष्ट्रिय राजनीतिमा जे बीउ रोप्यो, त्यसको परिणाम २०४६ सालमा स्थापना भएको बहुदलीय प्रजातन्त्र समाप्त भएको हामीलाई थाहा छ। हाम्रो चिन्ता त्यहाँनेर छ। त्यसकारण प्रणालीको रक्षाका लागि हामी भ्याकेटमा गएका हौँ,’ उनले भने।
एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले कर्णाली प्रदेशका चार जना सांसदलाई निष्कासन गरेपछि सर्वोच्च अदालतले सो कमिटीको वैधतामा प्रश्न उठाउँदै उनीहरुलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो। एमाले भने सो आदेशका विरुद्धमा भ्याकेटमा गएको छ। सो कदमपछि एमालेको एकता प्रक्रिया विथोलिएको चर्चा पनि भइरहेको छ। ज्ञवालीले भने सो कदमले एकतालाई कुनै पनि फरक नपर्ने बताए।
ज्ञवालीले अदालतको आदेशलाई भने गम्भीर र त्रुटिपूर्ण बताए। ‘राजनीतिक दल एकीकरण र व्यवस्था गर्न बनेको ऐन २०७५ ले बहुत प्रष्ट शब्दमा, त्यसको दफा २ को परिभाषा खण्डमा पार्टीको केन्द्रीय कार्यकारिणी समिति भन्नाले के-के बुझाउँछ भनेर त्यसमा सविस्तार उल्लेख गरेको छ। त्यसमा केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय समिति, केन्द्रीय कार्यसम्पादन समिति, तदर्थ समितिलगायत सबै चिजहरु ऐनमा उल्लेख गरिएको छ। यो दलहरुको नितान्त आन्तरिक विषय हो। दलहरु कसैले आफ्नो पार्टी प्रमुखलाई अध्यक्ष भन्छन्। कसैले पार्टी सभापति भन्छन्। कसैले महासचिवलाई प्रमुख मान्ने गरिरहेका छन्। यी त दलहरुका आफ्नो आन्तरिक प्रबन्धका कुराहरु हुन्। तर दलहरुको प्रबन्धलाई विल्कुल बेवास्ता गरिकन जुन ढंगको फैसला जेठ २७ गते आयो, यो त्रुटिपूर्ण छ। त्यसको हामीले कानुनी प्रतिवाद गर्ने नै छौँ। गरिरहेका छौँ,' उनले भने।
ज्ञवालीले नेताहरुलाई कारबाही गर्नु आफूहरुको रहरको विषय नभएको बताए। ‘तर, आफ्नो पार्टीको सरकारलाई बर्खास्त गरेर, अपदस्थ गरेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन साथीहरुको हस्ताक्षर प्रयोग भइसकेपछि यहाँभन्दा अनुशासनको उल्लंघनको विषय अर्को केही हुन्छ जस्तो त मलाई लाग्दैन। यो कम्युनिस्ट पार्टीमा मात्रै होइन। सामान्य, जसलाई हामी ‘बुर्जुवा’ पार्टी भन्छौँ, ती पार्टीहरुमासमेत यो कदापी पनि स्वीकार्य र क्षम्य हुने विषय मानिँदैन। कारबाही बाध्यात्मक विषय हो। तैपनि परिवर्तित सन्दर्भमा केही निर्णयहरु गर्नुपर्यो भने आयोजक कमिटीले गर्न सक्नेछ,' उनले भने।
ज्ञवालीले आफूहरुको तर्फबाट एकताका लागि हरसम्भव प्रयत्नहरु भइरहेको बताए। र, त्यसका लागि औपचारिक र अनौपचारिक तहबाट कुराकानीहरु भइरहेको बताए।
‘पार्टी नेतृत्वको तहबाट हाम्रो प्रयासचाहिँ नेकपा (एमाले)को एकता अक्षुण राखेर, कायम राखेर, सुदृढ गरेर मात्रै लोकतन्त्रको रक्षा गर्न सकिन्छ, कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सकिन्छ, वर्तमान संविधानको रक्षा गर्न सकिन्छ, राष्ट्रिय एकता र राष्ट्रियताको पनि रक्षा गर्न सकिन्छ। एमाले कमजोर हुँदाखेरी यी सबै पक्षहरुचाहिँ अप्ठ्यारोमा पर्छन्। संकटमा पर्छन् भन्ने निष्कर्ष छ। हामी त्यसका लागि हरसम्भव प्रयत्नहरु गर्छौँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।