तस्वीर : प्रधानमन्त्रीको सचिवालय।
काठमाडौं- नेकपा (एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। उनका अनुसार, बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्नेछ।
‘पार्टी स्थायी कमिटीको नवौँ बैठक भर्खरै सम्पन्न भएको छ। बैठकमा हामीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तिहरु र राष्ट्रिय राजनीतिका विभिन्न आयामहरुको सन्दर्भमा संक्षिप्त तर गहन छलफल गरेका छौँ। यो विषयमा केही निर्णयहरु गर्न आवश्यक भएको र अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णयहरु निकाल्नुपर्ने भएको हुनाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आउने असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्नेगरी बैठकले निर्णय गरेको छ’, ज्ञवालीले भने।
पार्टी सदस्यता नवीकरणको कामलाई तीव्रता दिन बैठकले मातहत कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको उनले बताए। ‘बाँकी विषयहरूमा हामी महाधिवेशन आयोजक कमिटीको बैठक बसेर थप छलफल गर्छौँ। थप निष्कर्षहरु निकाल्छौँ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।