काठमाडौं– प्रतिनिधि सभा विघटनको मुद्दामा आइतबार निवेदकका तर्फको बहस सकिँदै छ। विपक्षी गठबन्धनका तर्फवाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदले दायर गरेको रिटमा अब उनीहरुले बहसका लागि २ घन्टा ३५ मिनेट समय पाउनेछन्। गत वुधवारबाट सुरु भएको बहसमा १२ घन्टा बहस भइसकेको छ।
तीन दिनसम्म गरेको बहसमा निवेदकहरुले प्रतिनिधि सभा विघटन गर्ने कार्य असंवैधानिक भएकाले पुनःस्थापना हुनुपर्ने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिनुपर्ने र संविधानको धारा ७६(५)मा दलीय ह्विप नलाग्ने ब्याख्या गरेका छन्। अब वहस गर्ने कानुन व्यवसायीमध्ये बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सतीशकृष्ण खरेललाई ३०/३० मिनेटको समय निर्धारण गरिएको छ भने अन्यको हकमा थोरै समय निर्धारण गरिएको छ। चिया समयसम्म निवेदक पक्षले वहस सकेपछि वाँकी समय सरकारी पक्षवाट बहस सुरु हुनेछ।
सरकारका तर्फवाट महान्यायाधिवक्ता रमेश वडालले बहस गर्ने तयारी गरेका छन्। सुरुकै दिनदेखि इजलासमा उपस्थित भएर बहसको तयारी गरेका बडालले सरकारका तर्फबाट धेरै समय वहस गर्नेछन्। उनले लामो समय बहस गर्ने अनिमात्र नायव महान्यायाधिवक्ताले वहस गर्ने तयारी गरेका छन्।
सर्वोच्चले विपक्षीलाई पनि १५ घन्टाको समय उपलव्ध गराएको छ। उक्त समयमा सरकारी पक्षले साढे सात घन्टा समय पाउनेछन्। तोकिएको समयमा वहस सक्नका लागि सरकारी वकिलले विषय विभाजन गर्दै तयारी गरेका छन्।
जेठ ७ गते मध्यरातमा काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीश संलग्न सवैधानिक इजलासमा बहस चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।