काठमाडौं– गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको २ साता पुग्न लागेको छ। तर, नयाँ सरकारले पूर्णता भने पाउन सकेको छैन। प्रदेश सरकारले कहिले पूर्णता पाउँछ भन्ने विषय अझै निश्चित हुन सकेको छैन।
नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि जेठ २९ गते नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए। जेठ २९ गते नै मुख्यमन्त्री पोखरेलेसँगै ४ मन्त्रीले पनि शपथ ग्रहण गरेका थिए।
मुख्यमन्त्रीसँगै शपथ ग्रहण गरेर पनि लामो समय जिम्मेवारी (मन्त्रालय) नपाएका मन्त्रीहरुले भने अब जिम्मेवारी पाउने भएका छन्। मुख्यमन्त्री पोखरेलले अर्थ र भौतिक पूर्वाधार विकास मन्त्रालय आफैंसँग राखेर शपथ लिएका मन्त्रीहरुलाई जिम्मेवारी तोक्ने भएका छन्।
कांग्रेसबाट मन्त्री भएका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
प्रदेश सरकारको प्रमुख सत्ता साझेदार माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारी गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन्। यस्तै, जनता समाजवादी पार्टीका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
मुख्यमन्त्रीसँगै शपथ लिएका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)लाई दिइने मन्त्रालय भने टुंगिन बाँकी छ। मनाङेले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी गर्दै आएका छन्।
नेपाली कांग्रेसका प्रदेश सांसद विष्णु लामिछानेले आइतबार बिहान छलफल गरी सपथ लिइसकेका मन्त्रीको मन्त्रालयको अन्तिम टुंगो लगाइने जानकारी दिए।
जेठ २९ मा मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलसँगै सपथ लिएका ४ जनाको जिम्मेवारी तोकिएको थिएन। कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डामा विवाद भएपछि मन्त्री मण्डलले पूर्णता पाउन नसकेको हो।
कांग्रेस तथा माओवादी केन्द्रले ४/४, जनता समाजवादीले २ र स्वतन्त्रले १ मन्त्रालय लिने समझदारी बने पनि कसले कुन मन्त्रालय पाउने टुङ्गो लागेको थिएन।
शक्तिशाली मन्त्रालयमा कांग्रेस र माओवादी केन्द्रको दाबी रहेको छ। अहिलेलाई शपथ लिएका चार जनालाई मन्त्रालय तोक्न लागिए पनि अन्य बाँकीमा कुन दलले कुन मन्त्रालय प्राप्त गर्नेमा विवाद यथावत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।