काठमाडाैं- कोरोनाको डेल्टा प्लस भेरियन्टका कारण पहिलोपटक भारतको तमिलनाडुमा एक व्यक्तिको मृत्यु भएको छ।
तमिलनाडुकाे स्वास्थ्य विभागका शनिबार दिएको जानकारी अनुसार मदुरई शहरमा बस्दै आएका एक जनाको मृत्यु भएको छ।
‘मदुरईमा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि यस नमुना संकलन गरिएको थियो। परीक्षण गर्दा डेल्टा प्लस भेरियन्ट पुष्टी भयो,’ तमिलनाडु राज्यका स्वास्थ्य मन्त्री सुब्रमणियनले भने।
उनका अनुसार मृतकको सम्पर्कमा आएका व्यक्तिहरूको पनि नमुना परीक्षण गरिएको छ। उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ। यता, अन्य २ जनामा डेल्टा प्लस भेरियन्टको संक्रमण पुष्टि भएको छ। जसध्ये एक चेन्नईका ३२ वर्षे नर्स र कान्छीपुरमका व्यक्ति थिए।
डेल्टा प्लस भेरियन्टबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएकाे भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
महाराष्ट्रमा २० व्यक्तिमा यो भेरियन्ट देखिएको छ।
कोरोना भाइरसको प्रकार डेल्टा अर्थात् बी१.६१७.२ बाट उत्परिवर्तन भएर बनेको अर्काे नयाँ भेरियन्ट हो। यो प्रकार सबैभन्दा पहिले गत मार्च अन्त्यतिर युरोपमा फेला परेको थियो। वैज्ञानिकले यसलाई डेल्टा प्लस, एवाई१ नाम दिएका छन्।
पछिल्लो समय भारतमा आतंक मच्चाइरहेको यो भेरियन्ट सबै उमेर समूहका मानिसलाई संक्रमण गर्न सक्ने क्षमताको छ। यसले मानिसको रोग प्रतिरोधी क्षमतालाई समेत चुनौती दिने वैज्ञानिकहरुकाे दाबी छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नै यो भेरिएन्ट निकै खतरनाक भएकाे बताएकाे छ। यसकाे संक्रमणले सामान्यदेखि गम्भीरसम्मका लक्षण देखापर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।