आपराधिक पृष्ठभूमि भएका राजनेता मुख्तार अन्सारी
काठमाडाैं- भारतकाे उत्तर प्रदेश प्रहरीले ‘ग्याङस्टर’ को १ हजार १२८ करोड भारु अवैध सम्पत्ति जफत गरेको छ। प्रहरीले ग्याङस्टर ऐन अन्तर्गत उक्त अवैध चल तथा अचल सम्पत्ति जफत गरेको हाे। यो सरकारी तथ्याङ्क जनवरी २०२० देखि अप्रिल २०२१ सम्मका हुन्।
समाचार एजेन्सी पीटीआईका अनुसार जफत गरिएको सम्पत्ति माफिया र उत्तर प्रदेशमा कार्यरत उनीहरूको गिरोहका सदस्यहरुको हो।
उत्तर प्रदेश प्रहरी अतिरिक्त पुलिस महानिर्देशक (कानून तथा व्यवस्था) प्रशान्त कुमारले भने, ‘ग्याङस्टर ऐन अन्तर्गत २२ हजार २५९ आरोपित अपराधीविरुद्ध कारबाही गरिएको छ। यसमा मुख्तार अन्सारी, अतीक अहमद र सुन्दर भाटीको गिरोहका सदस्यहरू छन्।’
उनका अनुसार ग्याङस्टर ऐनको धारा १४ (१) मा अवैध रुपमा अधिग्रहण गरिएको सम्पत्ति जफत गर्नसक्ने प्रावधान गरेको छ। यो सम्पत्ति ग्याङस्टर, माफिया र अपराधीविरुद्ध प्रभावकारी प्रतिरोधका लागि जफत गरिएको उनको भनाइ छ।
प्रहरीको भनाइ अनुसार जनवरी २०२० देखि अप्रिल २०२० सम्म राज्यमा २५ माफिया रहेकाे पत्ता लागेकाे थियाे।
यस अवधिमा ५५८८ एफआईआर (आराेप पत्र) ग्याङस्टर ऐन अन्तर्गत दर्ता गरिएको थियो। २२ हजार २५९ अपराधीहरूविरुद्ध कारबाही गरिएको थियो। उनीहरुको चल तथा अचल सम्पत्तिसमेत जफत गरिएको थियो।
प्रहरीका अनुसार आपराधिक पृष्ठभूमि भएका राजनेता मुख्तार अन्सारीको गिरोहको विरुद्ध १०२ वटा एफआईआर दर्ता गरिएको छ भने उनका गिरोहका ११० जना पक्राउ परेका छन्।
अन्सारी हाल बन्डा जेलमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।