काठमाडौं- शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रुपमा सम्मान गर्ने बताएका छन्। शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सरकारले विगतमा पनि कानुन र संविधानको पूर्ण पालना गरेको र अब पनि संसद् विघटनका सम्बन्धमा न्यायपालिकाले गर्ने निर्णयलाई स्वीकार गर्ने बताएका हुन्।
राजनीतिक अस्थिरता र संसद्ले नै काम गर्न नसक्ने अवस्था भएपछि अन्तर्राष्ट्रिय अभ्यास तथा राजनीतिक आवश्यकताको सिद्धान्त अनुसार मुलुकलाई स्थिरतातर्फ लैजान संसद् विघटन गरिएको उनको दाबी छ।
‘यो सरकार कानुनी राज्य र कानुनी शासनको, संविधानको सिद्धान्तलाई स्वीकार्छ। कानुनी शासन अन्तर्गत न्यायपालिकाको स्वतन्त्रतालाई, उसको अधिकार क्षेत्रलाई पूर्ण रुपले सम्मान गर्न जान्दछ। सक्दछ र सक्नुपर्छ भन्ने मान्यता राख्दछ’, मन्त्री नेम्वाङले भने।
पुनस्थापित संसद्ले मुलुकमा देखिएको अस्थिरता र पश्चगमनको बाटाहरुलाई निराकरण गरेर समस्या समाधान गर्न नसकेको र बहुमतको सरकार गठन गर्ने पटक पटकका अवसर खेर फालेकाले दोश्रो पटक संसद् विघटन गर्नुपरेको उनको भनाइ छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका उनले समयमा आयोजना छनोट नहुने, बजेट निकासा नहुने लगायत समस्या देखिने गरेको भन्दै आगामी दिनमा त्यस्ता समस्या आउन नदिन सबैलाई सचेत गराए।
लामो समयदेखि अड्किरहेको काठमाडौं उपत्यकाका स्मार्ट सिटी बनाउने निर्णयलाई कार्यान्वयन गर्नेतर्फ पनि सक्रिय ढंगले काम गर्न मन्त्री नेम्वाङले ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।