काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ बाट जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताएका छन्। उनले कोरोना भाइरस महामारीका कारण देशको अर्थतन्त्र कमजोर बनेको भएपनि जनताको स्वास्थ्य पहिलो प्राथमिकतामा रहेको बताए।
शुक्रबार परराष्ट्र अध्ययन प्रतिष्ठानको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले कोरोना नियन्त्रणका लागि विश्वका अन्य देशले भन्दा उत्कृष्ठ काम गरिरहेको दाबी गरे।
'कोभिड १९ को बेलामा जे कामगरी रहेका छौं, हाम्रो देशको अर्थतन्त्रले, आर्थिक अवस्थाले धान्ने खालको स्थति होइन। तर धान्न सक्ने देशहरु भन्दा अगाडि छौं' प्रधानमन्त्रीले भने, 'सुरुदेखि नै हामीले कोराना परीक्षण नि:शुल्क गर्ने, आइसोलेसन, क्वरेन्टिन, उपचार, खोपपनि नि: शुल्क गरी रहेका छौं।'
नेपालको भन्दा आर्थिक अवस्था धेरै मजबुत भएका देशहरुपनि आफूहरुले जनतालाई उपलब्ध गराएको जस्तो सेवा उपलब्ध नगराएको उनको भनाइ थियो।
उनले जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताए। 'लाईफ इज फस्ट। यसमा कतिपय विवाद भए।अन्तर्राष्ट्रियरुपमा अर्थतन्त्र पहिलो कि जनताको जीवन फस्ट भन्ने भयो। हामीले अर्थतन्त्र मान्छेका लागि चाहिने हो मान्छे बाँच्यो भने अर्थतन्त्र हुने हो भन्यौं' ओलीले भने, ' पहिला मान्छे बचाउँ त्यसपछि अर्थतन्त्र बचाउँला भनेर लागियो। मान्छे वाँचेन भने अर्थतन्त्र बच्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।