काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेला सुरु भएको छ। शुक्रबार बसुन्धरास्थित दियालो फुडल्याण्डमा पौडेलले आफू पक्षधर केन्द्रीय नेताहरुसँग छलफल गरिरहेका हुन् ।
बैठकमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, सुजाता कोइराला, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, दिलेन्द्र बडु लगायत उपस्थित रहेका छन्।
सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सक्रियता बढाएपछि वरिष्ठ नेता पौडेलले पनि आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका हुन्।
भदौका लागि तय १४औं महाधिवेशनका लागि कांग्रेस नेताहरुको सक्रियता बढेको छ। देउवाले फेरि सभापति उठ्ने बताएका छन् भने निधि पनि सभापतिको दौडमा रहेका छन्।
देउवाले यसअघि आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। निधिले पनि विभिन्न भेटघाट र छलफल गरिरहेका छन्।
शुक्रबार नै निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच छलफल भएको थियो। बैठकमा तीन शीर्ष नेताले पार्टीभित्र छुट्टै धार निर्माण गर्ने गरी छलफल अघि बढाएका र दीर्घकालीन समूहका रुपमा स्थापित हुने गरी छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।