काठमाडौं– संसद विघटनसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ७ वटा प्रश्नहरु निरुपण हुनुपर्ने बताएका छन्।
संवैधानिक इजलासमा आफ्नो बहस नोट प्रस्तुत गर्दै २६२ जना कानुन व्यवसायीहरुले अदालतबाट ७ वटा प्रश्नको निरुपण हुनुपर्ने बताएका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना निवर्तमान सांसदहरुको तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पहिलो नम्बरमै प्रधानमन्त्रीमा देउवाको दाबी नपुग्ने भनी राष्ट्रपतिले गरेको निर्णय संविधान अनुरुप छ वा छैन भनेर ब्याख्या हुनुपर्ने बताएका छन्।
यस्तै, केपी शर्मा ओलीले प्रधानमन्त्री पदको लागि संविधानको धारा ७६ (५) बमोजिम पेश गरेको दावी राष्ट्रपतिले प्रथम दृष्टिमा नै अस्वीकार गर्नुपर्ने हो वा होइन? भनेर व्यख्या हुनुपर्ने पनि उनीहरुको माग छ। यस्तै, त्यस्तो दाबी लिने हकदैया संसदमा विश्वास गुमाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई छ वा छैन ? भन्ने विषयमा पनि अदालतले ब्याख्या गर्नुपर्ने उनीहरुको माग छ।
कानुन व्यवसायीहरुले संविधानको धारा ७६(५) अन्तर्गत बनेको प्रधानमन्त्री पदको निम्ति दाबी गर्ने प्रतिनिधि सभाको सदस्यलाई प्रतिनिधि सभाका सदस्यहरुले सहमति दिँदा राजनितिक दलसम्बन्धी ऐन, २०७३ आकर्षित हुन्छ वा हुदैन भन्ने प्रश्नको पनि निरुपण हुनुपर्ने बताएका छन्। सँगै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थाको परीक्षण राष्ट्रपतिले गर्न पाउने नपाउने भन्ने विषयमा पनि ब्याख्या हुनुपर्ने उनीहरुको माग छ।
यस्तै, संविधानको धारा ७६(३) अन्तर्गत बनेको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गर्न सक्छ वा सक्दैन? संविधानको धारा ७६(५) अन्तर्गत प्रधानमन्त्रीको पदमा प्रक्रिया शुरु गरिसकेपछि सो प्रक्रिया पुरा नगरी धारा ७६(३) अन्तर्गत बनेको पदमुक्त हैसियत राख्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस राष्ट्रपतिले समर्थन गर्न मिल्छ वा मिल्दैन भन्ने प्रश्नको पनि निरुपण हुनुपर्ने कानुन व्यवसायीहरुको माग छ।
कानुन व्यवसायीहरुले संविधानको धारा ७६(५) अन्तर्गत प्रधानमन्त्रीको लागि दावी गरेका देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति नगरी प्रतिनिधिसभा विघटन गर्ने लगायतका निर्णय दुराशययुक्त, द्धेषपूर्ण तथा स्वेच्छाचारी छ वा छैन भन्ने विषयमा पनि ब्याख्या हुनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभा विघटनको विषय राजनीतिक विषय हो वा राजनीतिक सँगै मिसिएको संवैधानिक विषय हो ? त्यस्तो विषयमा अदालतले प्रवेशगरी निर्णय गर्न मिल्छ वा मिल्दैन ? राष्ट्रपतिलाई संविधानको धारा ७६(५) ले कुनै प्रकारको स्वविवेकीय अधिकार प्रदान गरेको छ वा छैन? साथै राष्ट्रपतिले सो धारालाई टेकेर प्रयोग गरेको अधिकार न्यायिक परिक्षणको विषय हुन सक्छ वा सक्दैन? भन्ने प्रश्नको पनि निरुपण हुनुपर्ने उनीहरुको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।