काठमाडौं– सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटबारे संघीय संसदमा आजबाट छलफल सुरु हुँदै छ। प्रतिनिधि सभा र राष्ट्रिय सभामा समग्र बजेट र मन्त्रालयगत बजेटमा छलफल हुने छ। आज बिहान ११ बजेका लागि संसदको बैठक बोलाइएको छ।
सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ। यही परम्परा अनुसार आजबाट संसद बैठकमा सांसदहरुले बजेटमाथी आफ्नो धारणा राख्ने छन्। यो क्रम आइतबारसम्म चल्ने संसद् सचिवालयका प्रवक्ता भरत गौतमले बताए।
अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट संसदमा प्रस्तुत गरेका थिए। बजेटमाथि विभिन्न खाले टिका–टिप्पणी भइरहेको छ। कम्युनिष्ट सरकारले ल्याएको बजेट जोखिम लिन र संघियता कार्यान्वयन उन्मुख नभएको भनि सत्ता पक्षकै सांसदहरुले आलोचना गरेका छन्।
प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसले बजेटमा असन्तुष्टि जनाउँदै ‘हावादारी’ भएको टिपप्णी गरेको छ। उसले बजेटलाई ‘बोझ बोकाउने हावादारी कार्यक्रमको पुलिन्दा’ भनेको छ। आजबाट सुरु हुने छलफलमा पनि सशक्त रुपमा बजेटको विरोध गर्ने तयारी कांग्रेसले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।