फाइल तस्वीर।
काठमाडौं- बिहीबार विपक्षी गठबन्धनले प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूलाई बोलाएर गरेको अन्तर्क्रियामा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निकै छोटो मन्तव्य राखे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिखित मन्तव्यसहित अन्तर्क्रियालाई औपचारिक रुपमा सुरु गरेपछि राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बोलेका थिए।
त्यसलगत्तै मन्तव्य राखेका नेपाल धेरैबेर बोलेनन्। जति बोले, त्यसमा पनि उनको भनाइको अर्थ प्रष्ट थिएन। ‘हामी कोर्स करेक्सनका निम्ति लागिपरेका छौं, केपी ओलीले मुलुकलाई राइटिस्ट (दक्षिणपन्थी) कोर्समा लैजाँदैछन्’, नेपालले छोटो मन्तव्यका क्रममा भने।
विपक्षी गठबन्धन त्यही कोर्स करेक्सनका लागि भएको उनले उल्लेख गरे। आफूहरू सबै लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्न चाहेको उल्लेख गर्दै उनले त्यहाँनेर ओलीको अनौठो प्रसंग जोडे। छेउमै रहेका कांग्रेस सभापति शेरबहादुर देउवातर्फ हेरेर उनले भने, ‘मान्छेबाट गल्ती हुन्छ, यदि केपी ओलीले पनि गल्ती महशुस गरेर करेक्सन गरेर आए, राजीनामा गरेर ठाउँ छाडिदिएर आए र म पनि वाम लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन्छु भनेर आए भने चाहिँ उनलाई पनि ठाउँ दिनुपर्छ है शेरबहादुरजी!’
तर, देशमा परिवर्तनका लागि लडेका वाम तथा लोकतान्त्रिक शक्तिहरूलाई बाइपास गरेर लोकतन्त्रविरोधी र राष्ट्रिय हितविरोधी शक्तिहरूसँग साँठगाँठ र चलखेल गर्ने, मुलुकलाई पछाडि लैजाने सोचेको हो भने त्यो सम्भव नहुने उनको भनाइ थियो।
नेपालले बोलेको यो विषय सम्पादकहरूको छलफलका क्रममा पनि उठ्यो। त्यसक्रममा नेपाललाई त्यो भनेर के संकेत गर्न खोज्नुभएको हो भनेर पनि सोधिएको थियो। तर, छलफलपछि नेपाल बोलेनन्। अन्तिममा लामो मन्तव्य राखेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसबारे प्रष्ट्याउने प्रयास गरेनन्।
बरु उनले भने, ‘देउवाजीको कांग्रेसमा अहिले यो विषयमा केही समस्या छैन, मैले नेतृत्व गरेको माओवादी केन्द्रमा पनि कुनै समस्या छैन, हामी एकजुट भएर संविधान, लोकतन्त्र र राष्ट्र जोगाउने काममा जुटेका छौं’, उनले भने, ‘तर, ओलीकै पार्टीमा भएकाले माधवजीलाई अलि बढी पेचिलो भएको छ, अलि बढी झमेला परेको छ। त्यसलाई हामीले त्यहीअनुसार बुझिदिनुपर्छ। त्यही बुझेर गठबन्धनले माधवजीलाई सघाउनुपर्छ।’
प्रचण्डले यस्तो बेला पनि नेपालले संघर्षको झण्डा बोकेको भन्दै त्यसको तारिफ गर्नुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।