काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य देशको अनावश्यक चलखेल स्वीकार्य नभएको बताएका छन्।
बिहीबार नयाँ बानेश्वरमा सम्पादकहरुसँगको अन्तर्क्रियामा धारणा राख्दै उनले गत जेठ २९ गते पाँच जना पूर्वप्रधानमन्त्रीहरुको सामूहिक वक्तव्यका सन्दर्भमा प्रष्ट पार्ने प्रयास गरेका थिए। उनले परिस्थिति गम्भीर भएकाले वक्तव्य सार्वजनिक गरिएको बताए।
उनले पाँच वटा पूर्वप्रधानमन्त्रीहरुले स्थितिलाई जनता समक्ष नराख्ने हो भने कसले गर्छ त? भन्ने प्रश्न गरे। ‘अहिले कसले सामूहिक नेपालीको बारेमा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ भनेर प्रभावकारी अपिल कहाँबाट हुनसक्छ भन्दा हामीले ठान्यौँ, पाँच जना पूर्वप्रधानमन्त्री हरुले गर्दा त्यो अपिल ठूलो हुन्छ भन्ने ठान्यौँ र हाम्रो जिम्मेवारी हो भन्ने ठान्यौँ’, उनले भने।
प्रचण्डले आफूहरुलाई कसैसँग दुस्मनी गर्नु भएको बताए। ‘तपाईंहले भाषा हेर्नुभयो भने, नेपाल र नेपालीलाई अपिल गरिएको छ। हामी छिमेकीहरुसँग पनि राम्रो सम्बन्ध होस् भन्ने चाहन्छौँ। तर हाम्रोभित्र अनावश्यक चलखेल हामीलाई स्वीकार्य छैन। नेपाली जनता, नेपाली मनोविज्ञान, नेपालको संस्कार त्यस्तो होइन। नेपालको हामी सक्दैनौँ भन्ने कुरा पनि त्यहाँ छ’, उनले भने।
उनले निर्वाचन गर्ने बेलामा होस् वा गठबन्धन बनाउने बेला, धेरै अप्ठ्याराहरु सामना गरेको बताए। ‘लोकतन्त्र, संविधान र राष्ट्रको पक्षमा जस्तोसुकै चुनौती भए पनि उभिने हो जस्तोसुकै त्याग गर्नुपर्ने भए पनि गर्ने हो भन्ने मनोविज्ञान, भावना र विचारबाट प्रेरित भएर आएको वक्तव्य हो’, उनले भने।
जेठ २९ गते पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल तथा डा बाबुराम भट्टराईले विज्ञप्ति सार्वजनिक गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय लिनुपर्ने बताएका थिए। ‘नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ’, वक्तव्यमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।